विराटनगर । पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उनीहरूलाई कपिलवस्तु जिल्लाको बुद्धभूमि गाउँपालिका-२ बाट पक्राउ गरिएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा प्र ०३-००१ ख १९९२ नम्बरको ट्रकलाई चेकजाँच गर्दा पशुलाई निर्दयी व्यवहार गरेको पाइएको थियो ।
पक्राउ पर्नेमा विराटनगर-३ मानगढका ३८ वर्षीय हेमु श्रेष्ठ, २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरीको कोशी गाउँपालिका-१३ नहर चोकका ५५ वर्षीय इर्साद आलम र सोही स्थानका २७ वर्षीय समिम आलम रहेका छन् । उनीहरूलाई तत्काल पक्राउ पुर्जी दिएर हिजो प्रहरीले पक्राउ गरेको हो ।
२४ गोरुलाई यातना हुने गरी पुच्छर बाँधेर झुन्ड्याएको, नाक डोरीले छेडिएको, गोरुलाई श्वासप्रश्वासमा अवरोध पुर्याएको ओसारपसार गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
दुई वटा गोरुको सिङबाट रगत समेत आएको पाइएको प्रहरीको भनाइ छ । गोरुहरूलाई सुरक्षित स्थानमा छाडिएको र ट्रक पनि नियन्त्रणमा लिइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।