विराटनगर । आज काग तिहार पर्व मनाइदैछ । यमराजको दूत मानिने कागलाई मीठो खानेकुरा दिएर काग तिहार मनाउने गरिन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने विश्वासका आधारमा कागलाई यमदूत भन्ने गरिन्छ ।
यमराजसमक्ष कागले राम्रो खबर लगिदियोस् भनेर कागलाई पूजा गरी खान दिई खुसी पार्ने चलन छ । काग घर छेउमा आएर कराउँदा केही खबर ल्याएको भन्ने मान्यता छ । तिथिको घटबढका कारण यसवर्ष सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
धनतेरस पर्व पनि मङ्गलबार नै मनाइएको छ । धनतेरसमा लक्ष्मीस्थिर राख्न गरगहना एवं तामाका भाँडाकुँडा किन्ने चलन छ ।