संगालोखबर


धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्ना कमी कमजोरीलाई महसुस गरी सुधार गरेर अघि बढ्न जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

नेकपा एमाले धनकुटाको स्थानीय विकास विभागले आज जिल्ला सदरमुकाममा आयोजना गरेको निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच जिल्ला स्तरीय प्रशिक्षणात्मक तथा मध्यावधि समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन् ।

Advertisement

जनप्रतिनिधिहरूले आफ्नो कामको आत्मसमीक्षा गरी नराम्रा कामलाई रोकेर राम्रा कामलाई मात्र अघि बढाउन मुख्यमन्त्री कार्कीको सुझाव छ । पालिका प्रमुख र उपप्रमुखको तालमेल नमिल्दा धेरै पालिकाका कामहरू लथालिङ्ग भएको उदाहरण दिदैँ मुख्यमन्त्री कार्कीले जनप्रतिनिधिहरूबीच समन्वयको खाँचो औँल्याए ।

नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीको हित विपरित र पार्टीलाई बदनाम गर्ने छुट नरहेको स्पष्ट पारे ।

‘हामीलाई पार्टीले राम्रो काम गर्नु भनेर पठाएको हो । नराम्रो गर्ने र पार्टीलाई बदनाम गर्ने छुट हामीलाई छैन’, मुख्यमन्त्री कार्कीले भने, ‘आफ्नो कामको राम्रोसँग समीक्षा गरौँ र जनपक्षीय काममा अघि बढौँ ।’

एमालेका जनप्रतिनिधि र नेता कार्यकर्तालाई जनताको मन जित्ने गरी काम गर्न आग्रह गर्दै उनले एमालेले २०८४ मा अझै राम्रो नतिजा ल्याउने दाबी गरे । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री राजेन्द्र राईले जनप्रतिनिधिले जनताको गरिबी घटाउने, आम्दानी बढाउने र सुशासनमा ध्यान दिएर काम गर्नुपर्ने धारणा राखे । जनप्रतिनिधिहरूलाई सँधै जनताको सुखदुःखमा साथ दिन उनले आग्रह गरे ।

कार्यक्रममा एमालेबाट निर्वाचित दुई सय भन्दा बढी जनप्रतिनिधिहरू भेला भएर मध्यावधि समीक्षा गरी भावी योजना एवम् रणनीति तय गरिएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!