संगालोखबर

विराटनगर । आफ्नो भागमा परेको मन्त्रालयका लागि नेपाली काङ्ग्रेसले मन्त्रीको नाम पठाउन नसकेपछि कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईलाई नै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Advertisement

प्रदेशमा सत्ता गठबन्धनको सहमति अनुसार स्वास्थ्य मन्त्रालय काङ्ग्रेसको भागमा परेको थियो । तर, आन्तरिक विवादका कारण काङ्ग्रेसले मन्त्रीको नाम सिफारिस गर्न नसकेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्ततः काङ्ग्रेसकै मन्त्री राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि सुम्पिएका हुन् ।

काङ्ग्रेसबाट मन्त्रीको नाम नआउँदा मुख्यमन्त्री कार्कीले नै सो मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । मुख्यमन्त्री कार्कीको सिफारिसमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले मन्त्रीको कार्यविभाजन हेरफेर गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गरेर जिम्मेवारी हेरफेर गरिएको जानकारी दिएको छ । कोशी प्रदेशमा नेपाली काङ्ग्रेसकै समर्थनमा एमालेका कार्कीको नेतृत्वमा प्रदेश सरकार गठन भएको हो ।

तर सरकार बनेको चार महिनापछि गत भदौ २८ गतेमात्र सरकारमा काँग्रेस सहभागि भएको हो ।  क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा काङ्ग्रेसभित्र विवाद छ । काङ्ग्रेस नेता डा. शेखर कोइराला समुहले दुईवटा मन्त्रालय दावी गरेपछिको विवाद अझै टुङ्गोमा पुगेको छैन ।

अहिले सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबाट मात्र मन्त्रीहरू सरकारमा सहभागि छन् । भुपेन्द्र पनि सिटौला समुहबाट मन्त्री बनेका थिए । काङ्ग्रेसले अर्को व्यक्तिको नाम पठाउन नसक्दा अहिले उनैलाई पुनः अर्को मन्त्रालयको पनि जिम्मेवारी आइलागेको हो ।

काङ्ग्रेस संसदीय दलका नेता उद्धव थापाले मन्त्रीको नाम पठाउन नसक्दा केही समस्या भएको स्वीकार गरे । ‘स्वास्थ्य मन्त्रालय हाम्रो भागमा परेको हो, तर हामीले मन्त्री कसलाई पठाउने भन्ने टुङ्गो नलाग्दा केही समस्या भएपछि अहिले भुपेन्द्र जीलाई नै स्वास्थ्य मन्त्रालय पठाइएको हो,’ थापाले संगालोखबरसँग भने, ‘अहिले उहाँले नै केही निर्णय गरेर काम गर्दै गर्नुहुन्छ, तिहारपछि अर्को मन्त्री पठाउछौँ ।’     

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!