म्याग्दी, ३१ भदौ । स्वदेश तथा विदेशका विभिन्न क्षेत्रको जागिर अनुभव संगालेका बेनी नगरपालिका–३ भकिम्लीका केशव शर्मा निउरेले व्यावसायिक बाख्रापालन थालेका छन् ।

Advertisement

जागिरे यात्रामा मुलुकका विभिन्न क्षेत्रसँगै आधा दर्जन विदेशमा पसिना बगाएका ३० वर्षीय निउरेले विगत एक वर्षदेखि घरमै व्यावसायिक बाख्रापालन थालेका हुन् ।

अरुको देशमा रातदिन काम गर्दा समेत दैनिक गुजारा चलाउनबाहेक अन्य उल्लेख्य प्रगति हासिक गर्न नसकिने निचोडमा पुगेपछि स्वदेशमै आत्मनिर्भर बन्ने अठोटसहित बाख्रापालनमा लागेको युवा कृषक निउरेले बताए । गत वर्षदेखि व्यावसायिक रुपमा असिम आधुनिक बाख्रापालन फर्म सञ्चालन गरेका निउरेको फर्ममा अहिले २५ वटा बाख्रा रहेका छन् ।

बोयर क्रस, जमुनापारी, वित्तल, खरीलगायतका स्थानीय र उन्नत जातका बाख्रापालन गरेका उनले फर्मको पूर्वाधार निर्माण, माउ बाख्रा खरिदलगायतको क्षेत्रमा करिब रु २० लाख बढी लगानी गरीसकेका छन् ।

बाख्रापालनलाई थप व्यवस्थित र व्यावसायिक बनाउने तयारीमा लागेका निउरेले भविष्यमा आफूले उत्पादन गरेका बाख्रालाई स्थानीय, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने संकल्प गरेका छन् ।

“गत वर्षदेखि गाउँमै व्यावसायिक बन्ने योजनासहित कृषि र पशुपालनको कर्ममा लागेको हुँ, अहिले बाख्रापालनसँगै सुन्तलाखेतीमा पनि लागेको छु, एकीकृत कृषिबाट आत्मनिर्भर बन्न सकिन्छ भनेर कृषि र पशुपालनलाई सँगसँगै अगाडि बढाएको हुँ”– कृषक निउरेले भने । उनले अहिले करिब १० रोपनी बारीमा व्यावसायिक सुन्तलाखेती समेत थालेका छन् ।

सुन्तला उत्पादनको हिसाबले पकेट एरिया मानिने भकिम्लीमा उनले सुन्तला खेतीसँगै सुन्तलाको बिरुवासमेत बिक्री वितरणका लागि नर्सरीसमेत स्थापना गरेको बताए ।

निउरेको सुन्तला बगैँचामा अहिले वार्षिक करिब रु ६० हजार बराबरको सुन्तला उत्पादन हुँदै आएको छ । केही वर्षअघि रोपण गरेका थप २०० बढी बिरुवाले तीन वर्षपछि उत्पादन दिन शुरु गरेपछि सुन्तलाबाट वार्षिक रु चार लाख बढी उत्पादन गर्नसक्ने उनको अनुमान छ ।

कृषक निउरेले कृषि पेशालाई व्यावसायिक बनाउनका लागि सुन्तलासँगै घाँसका बिरुवा उत्पादनलाई समेत सँगसँगै अगाडि बढाएका छन् । आफूले पालन गरेका बाख्राको लागि आवश्यक पर्ने घाँस विस्तारसँगै अन्यलाई समेत बिक्रीको लागि जिल्ला भूसंरक्षण तथा वन कार्यालयसँगको समन्वयमा विभिन्न प्रजातिका घाँसका बिरुवा उत्पादन शुरु गरेको बताए ।

उनले निकट भविष्यमा बाख्रापालनका, फलफूल, घाँससँगै टिमुरखेतीलाई समेत प्राथमिकता दिने योजना बनाएका छन् । साथै उनले बैंकले सुलभ दरमा उपलब्ध गराउने कृषि कर्जाको पहुँच पुग्न सकेमा बाख्रापालन र सुन्तलाखेतीमा लगानी बढाएर थप व्यावसायिक बनाउने योजना रहेको जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!