संगालोखबर


काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ स्कुलको नेपाली विभागले नाटककार विजय मल्लको मनोवैज्ञानिक नाटक ‘कोही किन बर्बाद होस्’ को मञ्चन गरेको छ । माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूले अभिनय गरेको नाटक सफलतापूर्वक मञ्चन भएको छ ।

वि.सं. २०१५ मा प्रकाशित उक्त नाटकमा सम्बन्धविच्छेदले सिर्जिएको समस्या, अभिभावकको व्यस्त जीवनशैली, होस्टेल राखे छोराछोरी सुध्रन्छन् भन्ने सोचाइ, शिक्षकको भूमिकालगायतका विषयवस्तुलाई उठान गरिएको छ ।

Advertisement

कसैको कारणले बालबालिकाले मानसिक प्रताडना सहनु नपरोस् साथै कोही बरबाद हुन नपरोस् भन्ने उद्देश्यले नाटक मञ्चन गरिएको नेपाली विषयका शिक्षक तथा नाटकका निर्देशक हरिशरण ढुङ्गानाले बताए ।

‘बालमनोविज्ञान, नारी हृदय र पुरुष स्वभावलाई रङ्गमञ्चले पूर्णता नै दिन त नसक्ला’, उनले भने, ‘ विद्यार्थीको अभिनयले निख्खारता नपाउला तर पनि सम्बन्धित सबैलाई झकझक्याउने जमर्को गरेका हौँ ।’

विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकसमेत गरेर दुई हजार बढीले नाटक हेरेका ढुङ्गानाले बताए । यो नाटक देशभरका विद्यालयमा मञ्चन गर्नुपर्नेमा उनले जोड दिए । विद्यार्थीहरूको अभिनयमा नाटक हेर्न पाउँदा उत्साहित भएका अभिभावकले धेरै कुरा सिक्ने अवसर पाएको बताए ।

किताबी ज्ञानसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा अब्बल बनाउन शिक्षकहरूको सहयोगमा विद्यार्थीहरूले नाटकमा भूमिका निर्वाह गरेका प्राचार्य केशरबहादुर खुलालले बताए । नाटकको निर्देशक तथा संयोजक हरिशरण ढुङ्गानाले गरेका थिए भने प्रिया पौडेल,  ज्ञानप्रसाद आचार्य, प्रेमनारायण भुसाल, बाबुराम लम्साल र गणेश तिमिल्सिनाले निर्देशन गरेका थिए ।
 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!