रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका-५ गुराँसे देवीथानमा आज बिहान पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु भएको छ । वर्षासँगै बिहान करिब ३ बजे माथिबाट खसेको पहिरोले स्थानीय सन्तोष तामाङको घर पुरेको हो ।

Advertisement

घरसँगै पहिरोमा पुरिएर सन्तोषकी श्रीमती ३२ वर्षीया आशा तामाङ र आशाकी आमा ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिए । ‘पहिरो झर्दै गरेका बेला सामान निकाल्न जाँदा उहाँहरूलाई घरसहित पहिरोले पुरेछ,’ घटनास्थल पुगेका एसपी चौधरीले संगालोखबरसँग भने, ‘पहिरो पन्छाएर आमा-छोरी दुवै जनाको शव निकालेका छौ । पहिरोमा परेर एकजना छिमेकी पनि घाइते हुनुभएको छ ।’

सन्तोषको परिवारले नयाँ घर बनाएका थिए । उनीहरु त्यहाँ बस्न थालेका थिएनन्, सामान मात्र राखिएको थियो । राती घरमाथिबाट पहिरो झर्न थालेपछी सामान निकाल्न जाँदा घरसहित आमा-छोरीलाई नै पहिरोले पुरेर बेपत्ता बनाएको थियो । प्रहरी र स्थानीयवासीले जेसीवीको सहयोगमा पहिरो पन्छाउँदा आमा-छोरीको शव फेला परेको हो ।

छोरीको घर आएका बेला रामकुमारी पनि छोरीसँगै पहिरोमा परेकी हुन् । सानो बच्चा बोकेर बाहिर बसेकाले सन्तोष भने पहिरोबाट जोगिएका छन् । आमा-छोरी दुवै जनाको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ ।

उनीहरूसँगै सामान निकाल्न सघाउने क्रममा पहिरोमा परेर छिमेकी २४ वर्षीया मिना माया तामाङ घाइते भएकी छन् । गर्भवती अवस्थामा रहेकी उनको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!