धनकुटा । धनकुटा नगरपालिका वडा नं.४ को कार्यालय भवन उद्घाटन गरिएको छ । जिल्ला प्रशासन कार्यालय नजिक ६५ लाखको लागतमा निर्माण गरिएको दुई तले वडा कार्यालय भवन बुधबार उद्घाटन गरिएको हो ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलालेखको पर्दा उघारेर भवन उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै नगर प्रमुख तामाङले आफ्नै भवनबाट सेवा प्रवाह गर्दा थप सहज हुने धारणा राखे ।
जनतालाई छिटो छरितो र सहज रुपमा सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेको भन्दै मेयर तामाङले सबै वडाहरूको सेवा प्रवाहलाई व्यवस्थित गर्दै लगिएको उल्लेख गरे ।
सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, धनकुटा ९ का वडाध्यक्ष टङ्क रोइला, युवा नेता अर्जुन छाराहाङ लगायतले आफ्नै भवनबाट वडाको सेवा प्रवाह सुरु भएपछि सेवाग्राहीलाई पनि सहज हुने विश्वास व्यक्त गरे ।
धनकुटा नगरपालिका वडा नं.४ ले मुख्यमन्त्रीको सम्पर्क कार्यालय नजिक निजी घरमा मासिक ७ हजार ५ सय रुपैयाँमा तीन वटा कोठा भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्दै आएको थियो ।
अब, वडाको आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने वडाध्यक्ष जम्सेर छारा बताउँछन् ।