काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदै छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेससमेतको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा १३८ मत आवश्यक पर्छ । हालसम्मको अवस्थामा ओलीसँग दुई तिहाई बहुमत देखिएको छ । कांग्रेस (८८ सांसद), एमाले (७९), जसपा (७) र लोसपा (४) सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि समर्थन गर्ने बताएका छन् ।
ओलीको विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा र राप्रपालगायत दल छन् । उनीहरुले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।