मोहन ढकाल/संगालोखबर


विराटनगर । ‘साधी डटकम’ बाट जोडिएको बैबाहिक सम्बन्धले सुनिता साहलाई नराम्ररी पिरोलेको छ । २०७३ सालमा मोरङको धनपालथान गाउँपालिका–२ का डा. श्यामप्रसाद साहसँग सुनिताले लगनगाँठो कसिन् । सुनिता भारतको उत्तर प्रदेश गाजियावादकी हुन् ।

सुन्दर भविष्यको सपना बोकेर गाँसिएको सम्बन्ध सुनिताका लागि भने भारी भयो । पतिको कुटाइका कारण विक्षिप्त बनेकी सुनिता न्यायाका लागि अदालत धाइरहेकी छिन् । अहिले ६ वर्षकी छोरी र उनको दैनिकी कष्टकर बनेको छ । स्कुलको शुल्क बुझाउन नसक्दा छोरी पढाइबाट बञ्चित भएकी छिन् । बिकेभिएम पढ्दै आएकी ६ वर्षीया छोरी पढाइबाट बञ्चित हुनु परेको र दैनिक जीविकोपार्जनका लागि दिनुपर्ने रकम समेत नपाएका कारण समस्या भएको सुनिताले बताइन् ।

Advertisement

बिबाह भएको छोटो समयमै पतिले धाकधम्की दिँदै कुटपिट गरेर ज्यान मार्ने सम्मको अवस्थामा पुर्याएपछि लामो समयदेखि सुनिता न्यायको खोजीमा छिन् । सुनिताले शुक्रबार पत्रकार सम्मेलन गरी आफू अन्यायमा परेको बताइन् ।

सुनिताले विभिन्न महिलासँग सम्बन्ध रहेको खुलासा हुने गरी पति श्याम र महिलाहरूबीच म्यासेन्जरमा भएको कुराकानीको ‘स्क्रिनसट’ पनि सार्वजनिक गरेकी छन् । अन्य महिलासँग नजिकिएसँगै पतिले आफूमाथि आक्रमण गर्ने गरेको बताइन् ।

२०८० चैत २६ गते श्यामप्रसाद साह (पति)लाई प्रतिवादी बनाएर सुनिताले मोरङ जिल्ला अदालतमा माना चामलसम्बन्धी मुद्दा दर्ता गराएकी छिन् । अहिले श्याम र सुनिताबीचको सम्बन्ध वैधानिक रुपमा छुट्ने प्रक्रिया अदालतमा विचाराधीन छ ।

२०७६ मंसिर ३ गते सुनिताले जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएकी थिइन् । पतिले मंसिर १ गते राति ११ बजे कुटपिट गरी घाँटीमा डोरी बाँधेर ज्यान लिने कोसिस गरेको निवेदनमा उनले उल्लेख गरेकी छन् ।

पतिले ज्यान लिने प्रयास गरेपछि तीन तलामाथिबाट छिमेकीको घरमा छोरीसहित हाम फालेर बाँच्न सफल भएको उनले बताइन् । त्यसपछि पतिले घरभित्र थुनेर राखेको र निस्कन सफल भएपछि प्रहरीमा निवेदन दिएको उनले बताइन् । त्यस बेला प्रहरीमा मिलापत्र गराइएको थियो ।

फेरि २०८० चैत ६ गते सुनिताले जिल्ला प्रहरी कार्यालय मोरङमा ‘घाउ जाँच गरी आवश्यक कारबाही गरिपाउँ’ भनी निवेदन दिएकी थिइन् । निवेदनमा उनले आफ्नो ८ वर्षअघि श्याम प्रदादसँग विवाह भएको, पतिले जहिल्यै पनि गालीगलौज र कुटपिट गर्ने गरेको उल्लेख छ ।

चैत ५ गते दिउँसो १ बजे पतिको कुटपिटबाट शरीरको विभिन्न भागमा चोट लागेको निवेदनमा उल्लेख छ । सुनिताले निवेदन दिएपछि श्यामलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसबेला दुर्व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट छुट्न सफल भए । तर अहिलेसम्म आफूले न्याय पाउन नसकेको सुनिताले गुनासो गरिन् ।

सुनिताको २०७६ सालमा नेपाली नागरिकता बनेपनि छोरीको जन्मदर्ता अहिलेसम्म भएको छैन । २०७३ सालमा विवाह गरेपनि २०७५ मा विवाह दर्ता भएपछि सुनिता र श्यामबीचको विवाहले वैधानिकता पाएको थियो ।

राजनीतिक व्यक्तिसँग निकट सम्बन्ध भएका श्यामले ‘तैँले केही गर्न सक्दिनस्’ भन्दै बारम्बार धम्कीको भाषा प्रयोग गर्ने गरेको सुनिताले गुनासो पोखिन् । उनले भनिन्, ‘सामाजिक परम्परा अनुसार नै हाम्रो विवाह भएको थियो । विवाह गरेर ल्याएपछि सुरुमा विराटनगरमा डेरामा राखेका थिए । त्यसपछि जनपथ टोलमा घर खरिद गरे । घर खरिद गरेपछि पतिले घरबाट बाहिर निस्कन नदिने, छरछिमेकीसँग बोल्न नदिने र अनावश्यक शंका गर्ने गर्थे ।’

विवाह गरेको केही समयपछि बसेको गर्भ जबरजस्ती पतिले गर्भपतन गराउन लगाएको उनले बताइन् । छोरीको जन्म भएपश्चात् रहेको गर्भ पनि जबरजस्ती गर्भपतन गर्न लगाएको उनले सुनाइन् ।

उनले प्रहरीमा मिलापत्र भएपश्चात पनि पटक–पटक यातना दिने, कोठामा थुनेर बाहिरबाट ताला लगाएर हिँड्ने, खान समेत नदिने र दैनिकजसो कुटपिट गर्ने गरेको सुनाइन् ।

उनले भनिन्, ‘आफ्नो इच्छाविपरीत दिनमा ४–५ पटकसम्म शारीरिक सम्पर्क राख्थे । इन्कार गरे कुटपिट गर्थे । छोरी नसुतेकै अवस्थामा जबरजस्ती शारीरिक सम्पर्क राख्थे । शारीरिक सम्पर्क गर्न खोजेपछि इन्कार गर्दा छोरीकै अगाडि अप्राकृतिक मैथुन गर्थे ।’

श्याम भने अदालतमा मुद्दा चलिरहेको बताउँदै अदालतले गरेको निर्णयलाई मान्ने बताएका छन् । ‘उसैले झगडा गर्ने वातावरण बनाएको हो । मैले पुरानो जे भयो भयो । माफी देउ भनेर माफी पनि मागे । तर कसैले भनेको उसले मानिनन्’, श्यामले फोन सम्पर्कमा भने ।

अन्य महिलासँग भएको म्यासेज सुनिताले सार्वजनिक गरेपनि उनले त्यसको अस्वीकार गरे । उनले भने, ‘कोहीसँग पनि गलत नियतले बोलेको छैन । त्यस्तो छ भने प्रमाण देखाओस् । धेरै जनासँग कुरा हुन्छ नि । म डाक्टर मान्छे हो । महिलासँग, अन्य बिरामीसँग कुरा त भइहाल्छ नि ।’

पत्नीको घाँटीमा आफूले डोरी नबाँधेको र चोट देखाउन आफैँ उनी डाम बनाएको उनले बताए । उनले सुनितामा मानसिक समस्या भएको आरोप समेत लगाए । उनले भने, ‘हाम्रो विवाहको बारेमा कांग्रेसका नेताहरूलाई सोध्दा सबै बताइदिन्छन् ।’

सुनिताले सम्पतिको लागि यो सबै गरिरहेको उनले बताए । उनले भने, ‘कुनै बेला म पनि राजनीतिमा सक्रिय थिएँ । प्रहरी प्रशासनले सम्झाउँदा पनि उसले मानेको छैन ।’

उसको बुबाआमा दिल्ली गाजियावादमा भाडामा बस्ने भएकाले सम्पत्तिका लागि यो काम गरिरहेको उनले बताए । श्याम विराटनगरमा रेष्टुरेन्टसँगै विराटनगर प्रोफेसनल इन्स्टिच्यूट पनि सञ्चालन गर्छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!