संगालोखबर

विराटनगर । मौसमको ख्यालै नगरी हचुवाका भरमा आयोजना गरिएको खेलकुद प्रतियोगिता अलमलमा परेको छ । खेलकुद विकास बोर्ड कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको मुख्यमन्त्री कप भलिबलको प्रतियोगिता निराशालाग्दो बनेको छ ।

Advertisement

विराटनगरको पुरानो तरकारी बजार गुद्रीमा हिजो आयोजित प्रतियोगिताका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ट्रयाकसुट लगाएर उपस्थित भएका थिए । प्रतियोगिता भव्य हुने अपेक्षासहित गुद्रीमा निर्माण गरिएको अस्थायी कोर्टमा पुग्दा मुख्यमन्त्री कार्की उत्साहित थिए ।

वर्षाका कारण उद्घाटन खेल नै प्रभावित बनेपछि भने सबै निराश बनेका थिए । वर्षाका कारण उद्घाटन खेल ‘नमुना’ का रुपमा मात्र सीमित भयो । बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (परशुराम) लाई निर्धारित समयमा प्रतियोगिताहरु सक्नुपर्ने चटारो भए पनि मौसमको ख्याल नगर्दा प्रतियोगिता प्रभावित बनेको हो ।

भलिबल संघ कोशी प्रदेशका महासचिव लेखनाथ पराजुलीका अनुसार दिनभरको वर्षाका कारण पाहुना टोली बागमती प्रदेश र गृहटोली कोशी प्रदेशबीचको उद्घाटन खेललाई नमूना खेलमा सीमित गर्नुपरेको थियो । मुख्यमन्त्री कार्की प्रतियोगिता उद्घाटन गर्न गुद्री पुग्दा केही समय वर्षा रोकिएको थियो ।

प्रतियोगिता उद्घाटन गरेपछि भने पानी दर्कन सुरु गरेको थियो । महासचिव पराजुलीले भने, ‘वर्षाका कारण उद्घाटन खेललाई डेमो (नमुना खेल) का रुपमा आयोजना गर्न बाध्य भयौं । वर्षा भइरहँदा खेलाडीलाई खेलाउन उपयुक्त नहुने भएकाले ३ सेटको खेलपछि कार्यक्रम सकिएको घोषणा गर्नुपर्यो । अब प्रतियोगिताको सुरुआती खेल आइतबारबाट हुनेछन् ।’

मौसम प्रतिकूल रहेकाले आइतबार पनि खेल कहाँ खेलाउने भन्ने टुंगो लागेको छैन । आयोजक बोर्ड र ब्यवस्थापन गरिरहेको प्रदेश र जिल्ला भलिबल संघ मोरङ अन्योलमा छन् । पूर्वानुमान नगरी हचुवाको भरमा प्रतियोगिता आयोजना गरिरहेको बताएका बोर्डका एक पदाधिकारीका अनुसार प्रदेश राजधानीमा आयोजना गरिएको कबड्डी र भलिबल दुवैको सुरुवात खराब भएको छ ।

बोर्डका सदस्यसचिव बस्नेत, उपाध्यक्ष विन्दिया कार्की लगायतले प्रतियोगिता आयोजनाका लागि समय नदिँदा समस्या उब्जिएको उनको भनाई छ । यसअघि कबड्डी गर्ने स्थल निर्क्योल गर्न नसक्दा अन्तिम क्षणमा विराटनगरको एक डान्सबार होटलमा करिब ६७ हजार रुपैयाँ भाडा तिरेर खेल सञ्चालन गरिएको उनले बताए ।

उनले भने, ‘कबड्डी आयोजना गर्दा पनि उद्भाटन मोरङको बुढीगंगा गाउँपालिकामा गरियो र बाँकी खेल विराटनगरको एक होटलमा । त्यसैगरी, अब भलिबल पनि गुद्रीमा पानीले समस्या गरेपछि कभर्डहल खोजी सुरु भएको छ । यहाँ बोर्ड आफैंमा पनि प्रतियोगिता आयोजना र स्थलबारे चुकेको छ ।’ मुख्यमन्त्री कपमा सातै प्रदेशका टोलीलाई सहभागी गराउन बोर्ड चुकेको छ । प्रदेश भलिबल संघका महासचिव पराजुलीले भने, ‘यसपटक मुख्यमन्त्री कप भलिबलको दोस्रो संस्करणमा तीनवटा प्रदेश सहभागी भएनन् । लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशबिना प्रतियोगिता हुँदैछ । प्रतियोगितामा कोशी, मधेश, सुदूरपश्चिम र बागमती प्रदेशबीच राउण्ड रोविनमा खेल हुनेछन् ।’

प्रदेशस्तरीय मुख्यमन्त्री कप नाम दिइए पनि सबै प्रदेश समेट्न नसक्नु पनि असान्दर्भिक देखिएको जिल्ला भलिबल संघका एक पदाधिकारीले बताए । मुख्यमन्त्रीको नाम प्रतियोगितामा जोडिएपछि समय र मौसम अनुकूल आयोजना गर्नुपर्ने हो । तर यहाँ असारे बजेट सक्न प्रतियोगिता गराइएको जस्तो देखियो ।’ प्रतियोगिताको ब्यवस्थापन गरिरहेको प्रदेश र जिल्लाले खेलका लागि सुनसरीको मधेशास्थित कभर्डहल र विराटनगर हाटखोलास्थित निर्माणाधीन कभर्डहलमध्ये एक चयन गर्ने तयारी गरेको छ । असार २६ गते फाइनल खेलको तालिका रहेको भलिबलका लागि १० लाख रुपैयाँ विनियोजन गरेको बोर्डले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!