संगालोखबर


विराटनगर । अत्यधिक वर्षाले विराटनगरको जनजीवन प्रभावित बनेको छ । गएरातिदेखि भइरहेको निरन्तर वर्षाका कारण महानगरका धेरै क्षेत्र जलमग्न बनेका छन् । वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि महानगरका विद्यालयहरुले आज एक दिनका लागि बिदा दिएका छन् ।

धेरैतिर डुबान भएकाले विद्यार्थीहरुलाई आउन समस्या हुने साथै कतिपय विद्यालय समेत डुबानमा परेपछि बिदा दिइएको हो । विराटनगर–५ स्थित एभरेस्ट स्कुललगायत विद्यालयले आज बिदा दिएका छन् । बिदासम्बन्धी सूचना मोबाइल ‘एप’ मार्फत् बिहानै अभिभावक तथा विद्यार्थीहरुलाई दिइएको एभरेस्टले जनाएको छ ।

Advertisement

प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीका अनुसार नगरका अधिकांश स्थान जलमग्न भएपछि विद्यार्थी आउन समस्या हुने भएकाले बिदा दिइएको हो । केही विद्यालयसमेत डुबानमा परेको उनले बताए । वर्षा रोकिएर अवस्था सामान्य बनेपछि पठनपाठन नियमित हुने उनको भनाइ छ ।

मोरङको हात्तीमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालय परिसर पनि जलमग्न बनेको छ । विश्वविद्यालय क्षेत्र जलमग्न बनेपछि अध्ययनका लागि आउने विद्यार्थीहरु समस्यामा परेको प्राध्यापक सबिता गौतम दाहालले बताइन् ।

अत्यधिक वर्षाका कारण कोशी राजमार्ग र भित्री सडकहरु जलमग्न बनेका छन् । ती सडक आसपासका घर तथा पसलका भुइँतलामा पानी पसेर डुबान भएको छ । कतिपय पसलहरुमा पसेको भलका कारण क्षति समेत भएको छ ।

विराटनगर बसपार्कनजिक बेतबाँस पसल सञ्चालन गरेका गोविन्दभक्त श्रेष्ठले भल पसेर पसलका सामानमा क्षति पुगेको जानकारी दिए । पानीको सहज निकास नहुँदा नगर क्षेत्रका धेरै पसल र घरहरु प्रभावित भएको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!