संगालोखबर

विराटनगर । तत्कालका लागि एक अर्ब रुपैयाँ भुक्तानी दिने सरकारी आश्वासनपछि दुग्ध किसानको आन्दोलन स्थगन भएको छ । भुक्तानी नपाएको भन्दै किसान र दुग्ध उत्पादक संस्थाका प्रतिनिधिले विरोध प्रदर्शन गर्दै आएका थिए ।

Advertisement

काठमाडौंस्थित दुग्ध विकास संस्थान (डीडीसी) घेराउ गर्नेलगायत आन्दोलनका कार्यक्रम गर्दै आएका उनीहरुले सरकारी आश्वासनपछि आन्दोलन स्थगन गरेका हुन् । संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले छिट्टै एक अर्ब रुपैयाँ भुक्तानी दिने आश्वासन दिएपछि आन्दोलन स्थगन गरी वार्ता गरिने भएको हो ।

आन्दोलनको अगुवाइ गरिरहेको केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र मिश्रले औपचारिक रूपमा वार्तामा आउन आह्वान गरेको साथै किसानको समस्यामा दुई साताभित्र निकास दिने प्रतिबद्धता जनाएको बताए । तत्कालका लागि १ अर्ब रुपैयाँ किसानलाई भुक्तानी गर्ने पनि आश्वासन पाएको उनको भनाइ छ ।

सचिव मिश्रको संयोजकमा बन्ने वार्ता टोलीमा किसानका तर्फबाट ९ जना सहभागी हुने भएका छन् । किसान र सरकारबीच बिहीबार पनि वार्ता भएको थियो । वार्तामा किसानलाई रकम तिर्ने मोडालिटीबारे छलफल भएको आचार्यले जनाए । शुक्रबार पुनः वार्ता हुने भएको छ ।

६ लाख दुग्ध किसानले ७ महिनादेखिको भुक्तानी पाएका छैनन् । डीडीसी र निजी डेरी उद्योगबाट गरी किसानले उठाउनुपर्ने रकम ५ अर्बभन्दा बढी भइसकेको संघले जनाएको छ । त्यसमध्ये डीडीसीको मात्र २ देखि साढे २ अर्ब रुपैयाँ पुगिसकेको जनाइएको छ । संघअन्तर्गत १ हजार ८ सय ७२ दुग्ध उत्पादक सहकारी संस्था आबद्ध छन् । यी संस्थाले करिब ६ लाख परिवारबाट औपचारिक रूपमा दैनिक करिब १२ लाख लिटर दूध संकलन र बिक्री गर्दै आएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!