Avatar photoRabin Katel

विराटनगर । कोशी प्रदेशका दलित महिलाहरूले आरक्षण कोटा बढाउँन माग गरेका छन् । न्याय, समानता र सम्मानका लागि दलित महिला संघले विराटनगरमा आयोजना गरेको दलित महिलाहरूको प्रदेश स्तरीय दुई दिने सम्मेलनले दलित समुदाय, महिला र दलित महिलाको आरक्षण कोटा बढाउँन माग गरेको हो ।

Advertisement

बिहीबार सम्पन्न सम्मेलनले आरक्षण कोटा बढाउँनुपर्नेसहित १९ बुँदे माग र पाँच बुँदे प्रतिवद्धतासहितको विराटनगर घोषणापत्र जारी गरेको छ । घोषणा पत्रमा समाजका अन्य जाति र समुदायको हाराहारीमा नपुग्दासम्मका लागि दलित समुदायलाई कम्तिमा २० प्रतिशत र पुरुषको हाराहारीमा नपुग्दासम्मका लागि महिलालाई ५० प्रतिशत प्रतिनिधित्व अनिवार्य हुने संवैधानिक व्यवस्था गर्न माग गरिएको छ । जसमा महिलाभित्र कम्तिमा २० प्रतिशत र दलितभित्र ५० प्रतिशत दलित महिलाका लागि आरक्षणको व्यवस्था गर्न माग गरिएको छ ।

अहिले समावेशीतर्फ ४५ प्रतिशत आरक्षण दिने गरिएको छ । सो कोटाभित्रबाट दलित समुदायलाई ९ प्रतिशत आरक्षणको व्यवस्था छ । महिलालाई ३३ प्रतिशत आरक्षण दिइदै आएको छ । दलित महिलाहरूले दलित समुदायलाई थप ११ प्रतिशत र महिलालाई थप १७ प्रतिशत आरक्षण वृद्धि गर्न माग गरेका हुन् । त्यस्तै, महिला कोटाभित्र र दलित समुदायको कोटाभित्र पनि दलित महिलालाई आरक्षणको व्यवस्था गर्न उनीहरूले माग अघि सारेका हुन् । यसरी दलित महिलाका लागि माग गरिएको आरक्षणभित्र पछाडि पारिएका मधेसी दलित महिला, एकल, अपाङ्ग, गन्धर्व लगायतलाई प्राथमिकता दिने उनीहरूले उल्लेख गरेका छन् ।

उनीहरूले राजनैतिक दलहरूले स्थानीय तहदेखि केन्द्र तहसम्म नै दलित महिलाको समानुपातिक प्रतिनिधित्वको अनिवार्य व्यवस्था गर्नुपर्ने, छुवाछुत भेदभावलाई मानवताविरुद्धको सामाजिक अपराध कायम गरी यस्तो अपराध गर्नेलाई हदैसम्मको कारबाहीको व्यवस्था गरिनुपर्ने, प्रत्यक अदालतमा छुवाछुत र भेदभाव हेर्ने छुट्टै इजलासको व्यवस्था गर्नुपर्ने लगायत माग पनि अघि सारेका छन् ।

सम्मेलनले जातीय, लैङ्गिक, धार्मिक, राजनैतिक लगायत सबै किसिमको विभेद तथा छुवाछुतविरुद्ध शून्य सहनशीलताको नीति लिने, ऐन कानूनहरू कार्यान्वयनका लागि सहयोगीको रुपमा काम गर्ने लगायत पाँच बुँदे प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

यो पनि…

दलित महिला संघको कोशी प्रदेश समिति गठन

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement