संगालोखबर सम्वाददाता

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालन गरेको छ । न्युरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरिएको हो ।

Advertisement

नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरेको मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल बताउँछन् । उनी भन्छन्, ‘क्याथल्याब त धेरैतिर छन्, तर न्युरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने वाइप्लेन क्याथल्याब नेपालमा अन्त छैनन्, केएमसीले सुरु गरेको यो नेपालकै पहिलो अत्याधुनिक वाइप्लेन क्याथल्याब हो ।’ जर्मनबाट उपकरणहरू ल्याएर करिब २५ करोडको लागतमा अत्याधुनिक क्याथल्याब सञ्चालन गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार सरकारी अस्पतालकै दररेटमा केएमसीले सेवा उपलब्ध गराउँनेछ ।

गम्भीर प्रकारको मस्तिष्कघात भएका बिरामीलाई यो क्याथल्याबभित्रै सिटी स्क्यान गर्न सकिनेछ । जटिल अवस्थाको भास्कुलर र न्युरो शल्यक्रियाका लागि थ्रीडी इमेजिङ्ग र थ्रीडी रोडम्यापको सुविधा पनि छ । मुटुको अप्रेसन नगरी भल्ब फेर्ने प्रविधिलाई गाइड गर्ने थ्रीडीसहितको ट्यावीको सुविधा पनि यो क्याथल्याबमा छ । यस्तो सुविधा नेपालका अन्य क्याथल्याबमा नभएको चिकित्सकहरू बताउँछन् । चिकित्सकहरूका अनुसार अन्य क्याथल्याबको तुलनामा यसमा निकै कम रेडिएसन प्रयोग हुन्छ । यहाँ ५५ इन्चको स्क्रिनमा हेरेर चिकित्सकले शल्यक्रिया गर्छन् ।

अत्याधुनिक सुविधासम्पन्न क्याथल्याब भएकाले विरामीलाई पनि निकै सहज हुने चिकित्सकहरूको भनाई छ । केएमसीले पछिल्लो समय अत्याधुनिक सेवा सुविधा विस्तार गरिरहेको छ । सफल मेडिकल व्यवसायीका रुपमा ख्याति कमाएका डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले फड्को मारेको हो । डा.शर्माले केएमसीको कार्यकारी अध्यक्ष पदबाट भने राजीनामा दिएका छन् । गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वार बन्न पदबाट राजीनामा दिएका डा.शर्मा चुनाव जितेर सांसद बनिसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!