- संगालोखबर सम्बाददाता

धनकुटा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि धनकुटाबाट १२ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश निर्वाचन क्षेत्र नं.१ बाट पाँच र निर्वाचन क्षेत्र नं.२ बाट सात जनाले उम्मेद्वारी दिएर चुनावी मैदानमा उत्रिएका हुन् ।

Advertisement

प्रदेश निर्वाचन क्षेत्र नं.१ मा नेकपा एमालेका जिल्ला सचिव एवं निवर्तमान प्रदेश सभा सदस्य निरन राईले उम्मेद्वारी दिएका छन् । उनी २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट बिजयी भएका थिए । त्यस्तै, सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अर्जुन राईलाई सोही क्षेत्रमा उम्मेद्वार बनाएको छ । यता, सत्ता गठबन्धनबाट संघमा उम्मेद्वार बन्न जोडबल लगाएका जनता समाजवादीका नेता रकम चेम्जोङले अन्ततः प्रदेश सभामा उम्मेद्वारी दिएका छन् । त्यस्तै, राप्रपा नेपालका योगेन्द्र आले र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मनकुमार राईले पनि सोही क्षेत्रमा उम्मेद्वारी दर्ता गराएका छन् ।

यता, प्रदेश निर्वाचन क्षेत्र नं.२ मा नेकपा एमालेबाट जिल्ला अध्यक्ष एवं निवर्तमान प्रदेश सभा सदस्य इन्द्रमणी पराजुलीले उम्मेद्वारी दिएका छन् । उनी गत प्रदेश सभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । यता, सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रकी नेतृ कुसुमकुमारी श्रेष्ठलाई उम्मेद्वार बनाएको छ । उनी प्रदेश सभाकी निवर्तमान समानुपातिक सांसद पनि हुन् । गठबन्धनबाट प्रदेश सभामा पार्टीले टिकट नपाएपछि नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका जिल्ला सभापति बालानन्द दाहालले सोही क्षेत्रमा स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टीका डम्बर बहादुर कटुवाल, राप्रपा नेपालका सोमबहादुर घिसिङ तामाङ र राप्रपाका श्याम बहादुर गुरुङले उम्मेद्वारी दिएका छन् । यता, जितेन्द्र राईले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार उम्मेद्वारी मनोनयन दर्ता गरेपछि उम्मेदवारहरू घरदैलो अभियानमा निस्कन थालेका छन् ।

प्रतिनिधि सभाका लागि धनकुटामा एउटा र प्रदेश सभाका लागि दुई वटा क्षेत्र तोकिएको छ । प्रदेशतर्फ उम्मेद्वारी दिएका १२ मध्ये दुई क्षेत्रमा एक/एक जना उम्मेद्वार प्रदेश सभा सदस्यमा निर्वाचित हुनेछन् । एक जना निर्वाचित हुने प्रतिनिधि सभा सदस्यका लागि धनकुटाबाट नौ जनाले उम्मेद्वारी दिएका छन् । प्रदेश र प्रतिनिधि सभामा गरी धनकुटाबाट २१ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् ।

यो पनि हेर्नुहोस्…

धनकुटाबाट प्रतिनिधि सभा सदस्यका लागि नौं जनाले दिए उम्मेद्वारी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!