- संगालोखबर सम्बाददाता

धनकुटा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटाबाट ९ जनाले उम्मेद्वारी दिएका छन् । धनकुटाको सामुदायिक भवनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् ।

Advertisement

धनकुटाबाट निर्वाचित हुने एक प्रतिनिधि सभा सदस्यका लागि राजनीतिक दलबाट सात र स्वतन्त्र दुई जना उम्मेदवारले उम्मेद्वारी मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत राजन बास्तोलाले जानकारी दिए । नेकपा एमालेका केन्द्रिय सदस्य एवं निवर्तमान प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले पुनः प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेद्वारी दिएका छन् । नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समिति सदस्य सुनिलबहादुर थापाले पनि उम्मेद्वारी दर्ता गराएका छन् ।उनले सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका हुन् ।

केही साता अघि जिल्लाका अधिकांश नेतासहित माओवादी केन्द्र परित्याग गरेका पोलिटब्युरो सदस्य हेमराज भण्डारीले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापाले पनि प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिएका छन् ।

राप्रपा नेपालका अमुल राई, एकीकृत शक्ति नेपालका रमेश राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आरामकुमार लिम्बू र मङ्गोल नेशनल अर्गनाइजेशनका विश्वमित्र लावतीले पनि उम्मेद्वारी दिएका छन् । त्यस्तै, पूर्वमाओवादी नेता गंगाराम गोम्देनले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि अन्य केही व्यक्ति पनि उम्मेद्वारी दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । तर, उम्मेद्वारी दर्ताका लागि आवश्यक प्रकृया नपुगेका कारण उनीहरूको उम्मेद्वारी दर्ता नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभाका लागि धनकुटामा एउटा र प्रदेश सभाका लागि दुई वटा क्षेत्र छन् । उम्मेद्वारी दिएका नौं मध्ये एक जना प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनेछन् ।

मंसिर ४ गते नै हुँने प्रदेश सभा निर्वाचनका लागि पनि आइतबार उम्मेद्वारी मनोनयन दर्ता गरिएको छ ।

यो पनि हेर्नुहोस्…

धनकुटामा दुई प्रदेश सभा सदस्यका लागि १२ उम्मेद्वार चुनावी मैदानमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!