- संगालोखबर सम्वाददाता

विराटनगर । भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.एडमण्ड जोनाथान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आवद्ध भएका छन् । भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा काम गर्दै आएका प्रा.डा.जोनाथानले त्यहाँ छोडेर बुधबारबाट नोबेलमा सेवा सुरु गरेका हुन् ।

उनलाई नोबेलका न्यूरो बिभाग प्रमुख डा.प्रकाश काफ्लेसहितको टिमले स्वागत गरेको छ । प्रा.डा.एडमण्ड ब्रेन ट्यूमर, मेरुदण्डको नसा च्यापिएको, ट्यूमर पलाएको लगायत समस्याको दुरविनको माध्यमबाट अप्रेशन गर्न अब्बल मानिन्छन् । प्रा.डा.जोनाथानको नोबेल प्रवेशले नेपाली विरामीहरुलाई निकै राहत मिल्ने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउँछन् ।

नोबेलमा बरिष्ठ न्यूरो सर्जन डा.काफ्ले, डा.प्रमोद चौधरी लगायत न्यूरो सर्जनहरु पनि कार्यरत छन् । प्रा.डा.जोनाथानको प्रवेशले नोबेलमा न्यूरो सर्जनको टिम थप मजवुत भएको छ । विश्वमै जटिल एवं दुर्लभ मानिने शल्यक्रियाहरु पनि सफलतापूर्वक गरेर नोबेल अस्पताल न्यूरो सर्जरी सेवामा अब्बल सावित छ । नोबेलमा नेपालका बिभिन्न जिल्लासहित भारत, माल्दिभ्स, बर्मा लगायत देशका विरामी पनि शल्यक्रियाका लागि आउँने गरेका छन् ।

नोबेलले दुई अर्ब २० करोडको लगानी गरेर २०७३ सालबाट दक्षिणपूर्वी एशियामै पहिलोपटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको हो । नोबेलमा ओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्यूरो ईण्डोस्कोप लगायत अत्याधुनिक उपकरण छन् ।

अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरु भएकाले नोबेलमा जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ । नोबेलमा न्यूरो सर्जरी सम्बन्धि पीएचडी लेबलको ‘एमसीएच न्यूरोसर्जरी’ पढाई पनि हुने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!