- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–२ स्थित माथिल्लो सान्नेमा दुई करोड भन्दा बढीको लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । २ करोड १३ लाख २३ हजारको लागतमा आठ कोठा भएको सुविधासम्पन्न दुई तले पक्की भवन निर्माण गरिएको हो ।

प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्र राईको पहलमा राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय धनकुटाले बजेट उपलब्ध गराएपछि भवन निर्माण भएको बताइएको छ । प्रतिनिधि सभा सदस्य राईले एक कार्यक्रमकाबीच रिबन काटेर भवन उद्घाटन गरेका छन् ।

कार्यक्रममा सांसद राईले सान्नेवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँन भवन निर्माणका लागि पहल गरिएको भन्दै पहलले सार्थकता पाउँदा खुशी लागेको बताए । आफ्नो पहलमा सान्नेसहित धनकुटाका ११ स्थानमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको जानकारी दिँदै सांसद राईले धनकुटेली जनतामा स्वास्थ्य उपचारको सहज वातावरण बन्दै गएको उल्लेख गरे ।

धनकुटेली जनताको भोटलाई आफूले कहिल्यै खेर जान नदिने भन्दै सांसद राईले जनताको मतलाई सिरमा राखेर काम गरिरहेको बताए । ‘स्वास्थ्य क्षेत्रको कुरा गर्ने हो भने मेरै पहलमा धनकुटाका ११ स्थानमा स्वास्थ्य चौकी बन्दैछन्, अन्य क्षेत्रमा पनि धेरै विकास भएको छ,’ सांसद राईले भने, ‘तपाईहरुले विश्वास गरेर मलाई दिनु भएको भोटलाई मैले शिरमा राखेर काम गरिरहेको छु, कहिल्यै खेर जान दिने छैन, धनकुटाको विकासका लागि हिजो पनि पहल प्रयत्न गरे, आज पनि गरिरहेको छु र भोलि पनि गरिरहनेछु ।’

कार्यक्रममा पाख्रीवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ, उपमेयर नम्रता देउजा, वडाध्यक्ष चुडामणी पुलामी र स्थानीय वालपञ्च माध्यमिक विद्यालयका प्रधानाध्यापक भरतमोहन अधिकारीले सुविधासम्पन्न स्वास्थ्य चौकी भवन बनेपछि सो क्षेत्रबासीलाई उपचारमा थप सहजता मिलेको बताए ।

स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय हर्कबहादुर पुलामी र लटे पुलामीले निःशुल्क जग्गा उपलब्ध गराएको वडासचिव एवं कार्यक्रम सञ्चालक ठगेन्द्र अधिकारीले जानकारी दिए । कार्यक्रममा दुवै जना जग्गा दातालाई सम्मान पनि गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!