- रबिन कटेल/संगालोखबर

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ्ग होममा शल्यक्रिया गरेर महिलाको पाठेघरबाट ९ किलोको ट्यूमर निकालिएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–४ की ३९ बर्षीया महिलाको पाठेघरबाट ९ किलो २ सय ग्रामको ट्यूमर अर्थात मासुको डल्लो निकालिएको हो । पाठेघर भित्रको यत्ति ठूलो ‘फाईब्रोड’ ट्यूमर विरलै मात्र भेटिने चिकित्सकहरू बताउँछन् ।

Advertisement

नर्सिङ्ग होमका डा.ज्ञानेन्द्रमान सिंह कार्की नेतृत्वको चिकित्सकहरूको टोलीले बुधबार शल्यक्रिया गरेर सफलतापूर्वक ट्यूमर निकालेको हो । पाठेघर भित्रको यत्ति ठूलो ट्यूमर आफूले पहिलो पटक निकालेको डा.कार्कीले बताए । ३१ वर्षको चिकित्सकीय अनुभव बटुलेका डा.कार्कीसँग पाठेघर आसपासबाट २८ किलोसम्मको ट्यूमर निकालेको अनुभव छ । तर, पाठेघरमै पलाएको यत्ति ठूलो ट्यूमर यसअघि कसैले निकालेको थाहा नभएको डा.कार्की बताउँछन् । ‘हामीले बेलाबेला ठूला–ठूला ट्युमरहरू निकालिरहेकै हुन्छौं । पाठेघर छेउबाट २८ किलोसम्मको ट्यूमर म आफैले निकालेको छु,’ डा.कार्कीले संगालोखबरसँग भने, ‘३१ वर्षको अनुभवमा हजारौं अप्रेशन गरिसके तर, पाठेघरमै पलाएको यत्ति ठूलो ट्यूमर यसअघि मैले पनि निकालेको थिइन, अरु कसैले निकालेको सुनेको पनि छैन ।’

ती महिलाले दुई बर्ष अघि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे गराउँदा सानो ट्यूमर देखिएको थियो । तर, त्यही ट्यूमरका कारण अन्य समस्या नभएकाले उनले थप उपचार गराइनन् । उनको पेट भने निरन्तर बढ्दै थियो, अन्ततः पेट अस्वभाविक रुपमा ठूलो भएपछि उनले विराट निर्सिङ्ग होममा आएर जाँच गराइन् । परीक्षण गर्दा निकै ठूलो ट्यूमर देखिएपछि शल्यक्रिया गरेर निकालिएको हो ।

शल्यक्रियामा नर्सिङ्ग होमका सञ्चालकसमेत रहेका डा.कार्कीसँगै डा.भानु न्यौपाने, डा.वातसल्य अर्याल, डा.फारिदा खातुन लगायत पनि सहभागि थिए । उनीहरूले करिब डेढ घण्टा लगाएर सफलतापूर्वक ट्यूमर निकालेका हुन् । पाठेघरबाट यत्ति ठूलो ट्यूमर निकालिएको भएपनि उनको सो पाठेघरमा अझै बच्चा बस्न सक्ने डा.कार्कीले बताए । ‘उनको बच्चा जन्माउँने इच्छा भएकाले हामीले निकै मेहनत गरेर पाठेघरलाई सुरक्षित गरी ट्यूमर निकालेका छौं, पाठेघरमा समस्या छैन, उनले अझै बच्चा जन्माउँन सक्छिन्,’ डा.कार्कीले भने ।

पेटबाट यत्ति ठूलो मासुको डल्लो निस्किएपछि बिरामीका आफन्त पनि आश्चर्यचकित भएका छन् । अप्रेशन पश्चात उनी अहिले अस्पतालको ‘पोष्टअप’ मा छिन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!