- संगालोखबर सम्वाददाता

धनकुटा । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले गत आर्थिक बर्ष २०७८/०७९ मा भएको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले २०७८ साउनदेखि २०७९ असार मसान्तसम्म एक वर्षको अवधिमा भएका काम वार्षिक समीक्षा गोष्ठी गरेर सार्वजनिक गरेको हो ।

कार्यक्रममा कार्यालय प्रमुख इश्वर थापाले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । कार्यालय प्रमुख थापाका अनुसार एक वर्षको अवधिमा जिल्लाभर २१ वटा सीप विकास तालिम सञ्चालन गरी ३६१ जनालाई सीप प्रदान गरिएको छ ।

ढाका कपडा डिजाइन तथा बुनाई, खाद्य परिकार बनाउने, दुग्ध परिकार बनाउने, डल कुसन बनाउने, ढाका कपडा बुनाई र कृष्टलका सामाग्री बनाउने तालिम दिइएको छ । त्यस्तै, मौरी घार निर्माण, मौरी पालन, बाख्रा पालन, बंगुर पालन, प्लास्टिक टनेल तथा आधुनिक खेती प्रविधि, ब्युटीपार्लर, बाँस हस्तकला र एसी/फ्रिज मर्मत तालिम प्रदान गरिएको कार्यालय प्रमुख थापाले जानकारी दिए ।

त्यस्तै, जिल्लाका ४८ उद्यमीहरूलाई सामग्री हस्तान्तरण गरिएको छ । कार्यालयले धनकुटा, हिले, भेडेटार, सिधुवा, पाख्रीवास, जोरपाटी, राजारानी, मुलघाट लगायत बजारको अनुगमन गरेको छ । उद्योगहरूको पनि अनुगमन गर्नुका साथै उपभोक्ता हित सम्बन्धी सचेतनामूलक कार्यक्रम पनि गरिएको छ ।

धनकुटामा औद्योगिक ग्राम सञ्चालन, प्रविधिमैत्री सेवा प्रवाहको प्रयास, उद्यमशीलता सम्बन्धी प्रेरणादायी श्रव्यदृश्य सामाग्रीको व्यवस्था, सेवाग्राहीलाई निःशुल्क व्यवसायिक योजना निर्माण र घुम्ती सेवा प्रदानलाई कार्यालयले सकारात्मक प्रयासको रुपमा उल्लेख गरेको छ ।

यसैबीच, धनकुटामा विगत एक वर्षको अवधिमा ५१६ वटा उद्योग र १६१ वटा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

घरेलु उत्पादनको प्रयोगमा जोड

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी युवराज कटेल, पत्रकार महासंघका अध्यक्ष नगेन्द्र राई र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले घरेलु उत्पादनको प्रयोगलाई प्राथमिकता दिन सबैलाई आग्रह गरेका छन् ।

उनीहरूले घरेलु उद्योगको प्रवद्र्धनका लागि घरेलु उत्पादनको प्रयोगमा प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै घरेलु उत्पादन र त्यसका उपभोक्ताबीचको ‘ग्याभ’ हटाउँनुपर्नेमा जोड दिए ।

धनकुटामा एक वर्षमा थपिए ६७७ उद्योग

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!