रबिन कटेल/संगालोखबर


विराटनगर । प्रदेश १ को नाम ‘किरात’ राख्नका लागि दवाव सृजना गर्न मुख्यमन्त्री राजेन्द्र कुमार राईले नै पहिचान पक्षधरहरूलाई आन्दोलनका लागि उक्साउने काम गरिरहेको खुलासा भएको छ । किरात प्रदेश नामकरणका लागि किरात राई यायोक्खाको अगुवाइमा सोमबार विराटनगरमा गरिएको दवावमुलक आन्दोलनका क्रममा जातीय सङ्घसंस्थाका नेताहरूले नै यो कुरा खुलासा गरेका हुन् ।

किरात प्रदेश नामकरणको माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका किरात राई यायोक्खाका केन्द्रिय अध्यक्ष दिवस राईले त्यहाँ आयोजित कोणसभामा बोल्दै मुख्यमन्त्री राईले नै एक हप्तासम्म कडा आन्दोलन गर्न भनेको खुलासा गरे । सबै जिल्ला ठप्प पार्ने गरी एक हप्तासम्म आन्दोलन गरेमा प्रदेशको नाम किरात रहेरै छोड्ने भएकाले आन्दोलन चर्काउन मुख्यमन्त्रीले सुझाव दिएको अध्यक्ष राईले बताए । ‘मुख्यमन्त्रीले हामीलाई भनिसक्नुभएको छ, चिउरा चाउचाउ र पानी खाएर भएपनि एक हप्ता लड्नुहोस्, प्रदेशको नाम कसरी किरात रहँदो रहेनछ म देखाउँछु भन्नु भएको छ,’ आन्दोलनमा सहभागीहरूलाई मुख्यमन्त्रीको भनाई उदृत गर्दै अध्यक्ष राईले भने, ‘अब प्रदेशको मुकाम विराटनगरमा मात्र नभई प्रदेशका १४ वटै जिल्ला सदरमुकाम ठप्प पार्ने गरी आन्दोलन गर्नुपर्छ ।’ मुख्यमन्त्रीको भनाइलाई आधार मान्दै उनले किरात प्रदेश नामकरणमा दबावका लागि अन्तिम र निर्णायक आन्दोलन चर्काउन आवह्वान गरेका थिए ।

Advertisement

कोणसभा अघि उनीहरूले मुख्यमन्त्री राईलाई नै ज्ञापनपत्र पनि बुझाएका थिए । सो क्रममा भएको औपचारिक कार्यक्रममा पनि मुख्यमन्त्री राईले आफू किरात प्रदेश नामकरणका लागि जस्तो सुकै मूल्य चुकाउन पछि नपर्ने दावी गरे । त्यहाँ पनि उनले आन्दोलन गर्न पहिचान पक्षधरहरूलाई सुझाव दिएका थिए । पहिचानको पक्षमा नरहेका सांसदहरूलाई फकाउँने, दवाव दिन र नभए सडक आन्दोलन गरेर भएपनि दबाबमूलक अभियान चाल्न मुख्यमन्त्रीले औपचारिक कार्यक्रममै सुझाव दिए । ‘अहिले पहिचानको पक्षमा बहुमत पुग्ने अवस्था छैन, यसलाई बुझेर तपाइहरुले दुई वटा काम गर्नुपर्छ,’ पहिचान पक्षधरहरूलाई सुझाव दिदैँ उनले भने, ‘पहिचानको पक्षमा नउभिएका पार्टीहरूलाई फकाउँने काम गर्नुपर्यो, पार्टीगत रुपमा सकिएन भनेपनि व्यक्तिगत रुपमा सांसदहरूलाई फकाई सम्झाई गर्नुपर्छ, स्थिति फरक भयो भने स्वभाविक रुपमा आज जस्तै तपाईँहरू सडकमा निस्कन जरुरी छ ।’

उनले मङ्सिरसम्म यो प्रकृया लम्बिएमा आफ्नो कार्यकाल सकिने भएकाले आफू पनि किरात प्रदेश नामकरणका लागि सडकमा आउनेसमेत बताए । पहिचान पक्षधरहरूले पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने दवाव बढाइरहेका बेला मुख्यमन्त्रीको यो भनाइले उनीहरुलाई थप बल पुगेको छ । जसका कारण आन्दोलन थप चर्किने संभावना पनि बढेको छ । जिम्मेवारीमा रहेका मुख्यमन्त्रीले नै यसरी आन्दोलनलाई उक्साउँदा नामकरणको बिषय थप जटिल बन्ने नेताहरु बताउँछन् ।

प्रदेश सभाबाट प्रदेशको नाम टुंग्याउँन अहिले अन्तिम तयारी भइरहेको छ । प्रदेशको नाम जातीय पहिचान वा साझा पहिचानका आधारमा राख्ने बिषय अहिले चर्चामा छ । कोशी, सगरमाथा, किरात लगायत नाम अहिले चर्चामा छन् ।

यसैबीच, यायोक्खाको अगुवाइमा विभिन्न जिल्लाका सयौं मानिस धरानमा भेला भएर मोटरसाइकल र्यालीसहित विराटनगरस्थित मुख्यमन्त्री कार्यालय घेराउका लागि आएका थिए । उनीहरूले कार्यालय अगाडी प्रदर्शन गर्दै किरात प्रदेश नामकरणको माग गरे । त्यसपछि उनीहरूले प्रदेश सभाको गेट अगाडि पुगेर केही समय प्रदर्शन गर्दै धर्ना दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!