- रबिन कटेल/संगालोखबर

विराटनगर । स्वास्थ्य बीमामार्फत बिरामीको उपचार गरेबापत सरकारले अस्पतालहरूलाई भुक्तानी गर्नुपर्ने रकम समयमै नदिँदा निजी अस्पतालहरूले भटाभट स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न थालेका छन् । स्वास्थ्य बीमा बोर्डमार्फत पाउनुपर्ने करोडौं रकम भुक्तानी नपाएपछि अस्पतालहरूले स्वास्थ्य बिमामार्फत गरिने उपचार सेवा बन्द गर्न थालेका हुन् ।

सोमबारबाट पूर्वका तीन ठूला निजी अस्पतालले यो सेवा बन्द गर्ने भएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, मोरङको बुढिगंगास्थित विराट मेडिकल कलेज र झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले एकैसाथ स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरेका हुन् । तीन वटै अस्पतालले बीमा कार्यक्रम बन्द गर्ने भन्दै आइतबार सूचना जारी गरेका छन् । आइतबार राती १२ बजेबाट बीमा मार्फतको उपचार सेवा बन्द गरिने अस्पतालहरूले जनाएका छन् । स्वास्थ्य बीमा कार्यक्रममार्फत बिरामीको निःशुल्क उपचार गरेबापत स्वास्थ्य बीमा बोर्डले यी तीन अस्पताललाई १ अर्ब ४५ करोड रकम भुक्तानी गर्न बाँकी छ । नोबेलको ५५ करोड, विराटको ४६ करोड र बीएण्डसीको ४४ करोड रकम स्वास्थ्य बीमा बोर्डले भुक्तानी गरेको छैन ।

सरकारले अस्पतालहरूलाई बीमा मार्फत उपचार गर्न लगाएर करोडौं रकम भुक्तानी नदिएपछि बाध्य भएर स्वास्थ्य बिमाको उपचार सेवा बन्द गर्नु परेको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बताए ।  ‘सरकारले करोडौं रकम महिनौँसम्म भुक्तानी नदिदा अस्पतालहरू धराशायी बन्दै गएका छन्, कर्मचारीहरूलाई समयमै तलब खुवाउँन सकिएको छैन, अन्य भुक्तानीहरु रोकिएका छन्, उपचार सेवा नै प्रभावित हुने अवस्था बनिसकेको छ,’ डा.शर्माले भने, ‘सरकार यो विषयमा गम्भीर बनेन, अरु उपाय नलागेपछि हामीले बाध्य भएर बीमा बापतको उपचार रोक्ने निर्णय लिएका छौं ।’

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा २०७९ साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य विमा कार्यक्रम उपलब्ध गराउँने भनिएको थियो । तर, त्यसपछि अस्पतालहरूलाई कुनै आधिकारिक कुरा नआएकाले अब स्वास्थ्य बीमा बापत उपचार गर्दा त्यसको भुक्तानी प्राप्त हुने वा नहुने अन्यौल भएकाले पनि बीमा कार्यक्रम बन्द गर्नु परेको डा.शर्मा बताउँछन् । बाध्य भएर स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्नु परेको भन्दै नोबेलले आइतबार स्वास्थ्य बीमा बोर्डलाई पनि पत्र पठाएको छ ।

‘बीमा क्लेम अनुसारको रकम समयमा प्राप्त नहुँदा अस्पतालले आर्थिक व्यवस्थापनमा ठूलो कठिनाइ भोग्दै आइरहेको छ । कर्मचारीको तलब, बिभिन्न सप्लायर्सहरूको बाँकी बक्यौता, बैंकको ऋणको किस्ता तथा व्याज, राज्यलाई भुक्तानी गर्नुपर्ने कर लगायत समयमा भुक्तानी गर्न समस्या भएको छ,’ नोबेलले स्वास्थ्य बीमा बोर्डको विराटनगरस्थित प्रदेश कार्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘बीमा क्लेम बापतको भुक्तानी नभएसम्म र सरकारले निजी स्वास्थ्य संस्थाबाट पनि स्वास्थ्य बीमा कार्यक्रम प्रदान गर्ने निश्चित नगरेसम्म स्वास्थ्य बीमा कार्यक्रमको उपचार सेवा स्थगन गरिएको छ ।’

सर्वसाधरण जनताको उपचारमा सरकार लापरबाह बन्दा निजी अस्पतालहरूले भटाभट स्वास्थ्य विमाको उपचार सेवा बन्द गर्ने स्थिती बनेको विराट मेडिकल कलेजका सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्की बताउँछन् । ‘स्वास्थ्य बीमाले सर्वसाधरण जनताहरुलाई उपचारमा धेरै सजिलो भएको थियो, तर सरकार जनताको मामिलामा गम्भीर नबन्दा अस्पतालहरूले उपचार रोक्नुपर्ने अवस्था बनेको छ,’ डा.कार्की भन्छन्, ‘सरकारले विमाको भुक्तानी नदिदा कर्मचारीहरूलाई तलब खुवाउँन सकिएको छैन, कर्मचारीहरुले जागिर छोड्न थालिसके, हामीले बाध्य भएर बीमा उपचार रोक्नु परेको छ ।’

यता, बिएण्डसीका सञ्चालक दुर्गा प्रसाई जनताको उपचार सेवा प्रभावित नगरौं भन्दा भन्दै पनि केही उपाय नलागेपछि स्वास्थ्य बीमा कार्यक्रमको उपचार बन्द गर्नुपर्ने अवस्था बनेको तर्क गर्छन् ।  निजी क्षेत्रबाट सञ्चालित पूर्वका तीन ठूला अस्पताल, नोबेल, विराट र बिएण्डसीमा दैनिक हजारौं विरामीले स्वास्थ्य बीमा बापत निःशुल्क उपचार गराउँदै आएका थिए । अब, यो सेवा प्रभावित बन्ने भएको हो । स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपनि शुल्क तिरेर गरिने उपचार सेवा भने सूचारु हुने अस्पतालहरूले जनाएका छन् ।

सरकारले प्रति परिवार बार्षिक ३ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बीमा गरी परिवारका पाँच जना सदस्यलाई बार्षिक १ लाख बराबरको निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएको छ । यसबाट सर्वसाधरणले स्वास्थ्य उपचारमा ठूलो राहत महसुस गरेका छन् । स्वास्थ्य बीमा बापतको उपचारका लागि सरकारले देशभरका ४५० स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ । तर, उपचार गरेबापत सरकारले स्वास्थ्य संस्थाहरुलाई दिनुपर्ने भुक्तानी समयमै नदिँदा यो सेवा प्रभावित बन्दै गएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!