- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–८ सान्ताङस्थित देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर बस्नेतमाथि विद्यालयमै कुटपिट भएको छ । विद्यालयका शिक्षक चन्द्रकुमार राईले विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपका विषयमा गएराती विद्यालयमा भएको छलफलका क्रममा आक्रोशित भीडले प्रधानाध्यापक बस्नेतमाथि कुटपिट गरेको हो ।

Advertisement

सहिदभूमि गाउँपालिका–३ घर भएका ४० वर्षीय शिक्षक राईले सो विद्यालयका ६ जना छात्रालाई पटकपटक यौन दुर्व्यवहार गरेको आरोप छ । उनले छात्राहरूको संवेदनशिल अङ्गहरूमा छुने, चिमोट्ने, ‘ब्रा’ को इलास्टिक तन्काइदिने जस्ता व्यवहार पटकपटक गर्दै आएको विद्यार्थीहरूले बताएका छन् । सो विषयमा आइतबार दिउँसो पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा शिक्षक राईविरुद्ध किटानी जाहेरी दिएको थियो । विद्यार्थीहरूले यो विषयमा आवाज उठाएपछि शिक्षक राई सम्पर्कविहीन थिए । साँझ विद्यालयमा सोही विषयमा शिक्षक, अभिभावक र विद्यार्थीहरु बीच छलफल डाकिएको थियो ।

छलफलका क्रममा आएका आरोपित शिक्षक राईलाई विद्यार्थीहरूले घेरा हालेर नियन्त्रणमा लिई राती करिब ८ः३० बजे प्रहरीको जिम्मा लगाए । विद्यालयका प्रधानाध्यापक बस्नेत, अभिभावक संघका अध्यक्ष सोमकुमार राई लगायतले शिक्षकलाई बचाउँन खोजेको भन्दै विद्यार्थी तथा अभिभावकहरू आक्रोशित थिए । पीडित विद्यार्थीहरूलाई न्याय दिलाउन उनीहरूले असहयोग गरेको भन्दै भीड आक्रोशित बनेको थियो । आक्रोशित भीडले आफूमाथि आक्रमण गरेको प्रधानाध्यापक बस्नेतले बताए । भाग्ने क्रममा प्रधानाध्यापक बस्नेतको दाहिने खुट्टा भाँचिएको छ । हातसहित शरीरका अन्य भागमा पनि चोट छ ।

‘चन्द्र सरलाई प्रहरीले लगिसकेपछि भीड म माथिनै आक्रमणमा उत्रियो, सरलाई जोगाउँन खोजेको भन्दै मलाई लछारपछार पार्दै कुटपिट गरियो,’ घाइते बस्नेतले संगालोखबरसँग भने, ‘ज्यान जोगाउँन भाग्ने क्रममा सिडिबाट लडेर खुट्टा भाँचियो ।’ घाइते बस्नेतलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । भाँचिएको खुट्टामा स्टिल हाल्नुपर्ने भएपछि उनलाई विराटनगर पठाइएको छ ।

 

यो पनि हेर्नुहोस्…

धनकुटामा विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!