
विराटनगर । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारमा आगलागी हुँदा १४ करोड ५६ लाख बराबरको क्षति भएको छ । बिहीबार दिउँसो भएको आगलागीमा १० वटा घर जल्दा सो मूल्य बराबरको क्षति भएको हो ।
‘आगलागीमा १४ करोड ५६ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ’, ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कमल बजगाईंले संगालोखबरसँग भने, ‘९ घर पूर्णरूपमा क्षति क्षति भएका छन् भने एक घरमा आंशिक क्षति पुगेको छ ।’
डन्डु शेर्पाको ढुङ्गा, माटो र टिनको छानो भएको दुईतले घरबाट विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो । दिउँसो करिब १ः४० बजेबाट सुरु भएको आगो फुङलिङ नगरपालिकाका दुई वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।
दोभान बजारमा २०७७ फागुन १८ गते पनि भीषण आगलागी हुँदा ४० वटा घर जलेर नष्ट भएका थिए । सो बेला पनि आगलागीबाट ठूलो क्षति भएको थियो ।

संगालोखबर 

















