- संगालोखबर सम्बाददाता

धनकुटा । विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा धनकुटा नगरपालिका–८ सान्ताङस्थित देउराली माध्यमिक विद्यालयका शिक्षक चन्द्रकुमार राई पक्राउ परेका छन् । शिक्षक राईले आफ्नै विद्यालयका छात्राहरूमाथि पटकपटक यौन दुर्व्यवहार गर्ने गरेको भन्दै विद्यार्थीका अभिभावकले किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले आइतबार राती पक्राउ गरेको हो ।

सहिदभूमि गाउँपालिका–३ घर भएका ४० वर्षीय शिक्षक राईलाई राती करिब ८ः३० बजे सान्ताङबाट पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले संगालोखबरलाई जानकारी दिए । उनीविरुद्ध आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको थियो । जाहेरी परेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । सोही क्रममा सान्ताङ पुगेका राईलाई विद्यार्थीहरूले घेरा हालेर नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका हुन् ।

शिक्षक राई बर्षौअघिदेखि देउराली माविमा राहत शिक्षकको रुपमा कार्यरत छन् । उनले विद्यालयका ८,९ र १० कक्षाका छात्राहरूलाई पटकपटक यौन दुर्व्यवहार गरेको आरोप छ । उनले छात्राहरूको संवेदनशिल अङ्गहरूमा छुने, चिमोट्ने, ‘ब्रा’ को इलास्टिक तन्काइदिने जस्ता व्यवहार पटकपटक गर्दै आएको आरोप छ । छ जना छात्राहरूलाई उनले यसरी पटकपटक यौन दुर्व्यवहार गर्दै आएको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेको छ ।

पछिल्लो पटक गत मंगलबार पनि उनले कक्षा ८ मा अध्ययनरत छात्रामाथि सोही व्यवहार गरेपछि आवाज उठाएको विद्यार्थीहरूले बताएका छन् । घटना बाहिरिएपछि विद्यालयमै मिलाउँने प्रयास गरिएको थियो । तर, नमिलेर प्रहरी कार्यालयसम्म उजुरी आइपुगेपछि शिक्षक राई पक्राउ परेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!