- संगालोखबर सम्बाददाता

धनकुटा। धनकुटाको पाख्रीवास नगरपालिकामा आइतवार दिउँसो उपमेयर नम्रता गौतमसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिले आयोजना गरेको पत्रकार सम्मेलन नेपाली काँग्रेसका कार्यकर्ता र मेयर ज्ञानबहादुर गुरुङ्गका समर्थकले विथोलेका छन् । एमाले संसदीय दलको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवेश गरेर कांग्रेस कार्यकर्ता र मेयर समर्थकले होहल्ला गर्दै कार्यक्रममा अवरोध पुर्याएका हुन् ।

Advertisement

काँग्रेस कार्यकर्ताको अवरोधका कारण पत्रकार सम्मेलन पुरा हुँन सकेन, विचमै स्थगित भयो । मेयर गुरुङ्गले एमाले जनप्रतिनिधिलाई ‘बायस’ गरेर अघि बढ्न खोजेको र उपमेयर गौतमलाई अपशब्द बोल्दै दुब्यर्वहार गरेको भन्दै दिउँसो १ बजे नगरपालिकाको सभा हलमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा वडाध्यक्ष सरोज राईले प्रेस विज्ञप्ति वाचन गरे । त्यसपछि उपमेयर गौतमको मन्तब्य सुरु भएको थियो, त्यतिकैमा करिब ५०/६० जनाको सङ्ख्यामा कांग्रेस कार्यकर्ताहरू पत्रकार सम्मेलन स्थलमा प्रवेश गरेर होहल्ला गर्न थालेका हुन् । जसका कारण उपमेयर गौतमले आफ्नो मन्तव्य पुरा गर्न सकिनन्, उनले बोल्दा बोल्दै बिचमै मन्तव्य टुङ्ग्याइन् ।

उपमेयरको भनाई पछि पत्रकारहरूले जिज्ञासा राख्ने समय तोकिएको थियो, तर कांग्रेस कार्यकर्ताको अवरोधका कारण पत्रकारहरूले प्रश्न सोध्न पाएनन् । उपमेयरले उठाएको विषयको समाचार नलेख्नु भन्दै कांग्रेस कार्यकर्ताले पत्रकारहरूलाई धम्कीसमेत दिएका छन् । माहोल बिग्रदै गएपछि अप्रिय घटना हुन नदिनका लागि सो स्थानमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

एमाले जनप्रतिनिधिले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयरलाई पनि राख्नुपर्ने, उपमेयरले मेयरमाथि लगाएको आरोप प्रमाणित गर्नुपर्ने र सो विषयमा दुवै पक्षलाई राखेर बहस गराइनुपर्ने कांग्रेस कार्यकर्ताको माग थियो । नेपाली कांग्रेसवाट निर्वाचित पाख्रीवास वडा नं.४ का वडाध्यक्ष सन्तोष मानन्धर, मेयर गुरुङ्गकी श्रीमती गंगा लगायतको नेतृत्वमा कांग्रेस कार्यकर्ता तथा मेयरका समर्थकहरु त्यहाँ प्रवेश गरेर होहल्ला गरेका हुन । पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्न पाउने हकको हनन् गर्दै मेयरकै निर्देशनमा पत्रकार सम्मेलन भाड्ने काम भएको भन्दै उपमेयर गौतमले आपत्ति जनाइन् ।

यो बिषयमा प्रतिक्रिया लिन मेयर गुरुङ्गलाई पटक–पटक सम्पर्क गर्दा पनि फोन उठेन । यता, नगरपालिकाको भवन भित्र पक्ष विपक्षको पत्रकार सम्मेलन राखिनु गलत भएकाले विरोध जनाइएको वडाध्यक्ष मानन्धरले बताए । कसैको निर्देशनमा नभई नगरबासीहरु आफै स्वतस्फूत रुपमा आएर विरोध जनाएको उनले दावी गरे ।

यसैबीच, पत्रकार सम्मेलनपछि उपमेयर गौतम कार्यालय बाहिर निस्कने क्रममा पनि कांग्रेस कार्यकर्ताले अवरोध गरेका थिए । उनीहरूले गेट बाहिर निस्कन नदिएपछि उपमेयर गौतम पुनः कार्यकक्षमै फर्किएकी थिइन् । उनलाई कार्यालयमै घेराबन्दी गरियो । ‘पत्रकार सम्मेलनमा बोल्न नदिने, कार्यक्रम भाँड्ने, हिडडुल गर्नसमेत नदिने व्यवहार भयो, नगरपालिकामा उपमेयरको भूमिकामा बस्न नदिने मात्र हैन, यहाँ त मेरो मानव अधिकार पनि हनन् भइरहेको छ,’ उपमेयर गौतमले भनिन्, ‘पाख्रीवासमा कांग्रेसको अराजकताले सिमा नाघिसकेको छ ।’

काँग्रेस कार्यकर्ता र मेयर समर्थकले यसरी विथोले उपमेयरको पत्रकार सम्मेलन, भिडियो हेर्नुहोस्…

उपमेयरलाई कार्यालय बाहिर निस्कन यसरी गरियो अवरोध, भिडियो हेर्नुहोस्…

अपडेट: पाख्रीवास नगरको विवादमा जुट्यो सहमति

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!