- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघले धनकुटा जिल्ला अस्पताल सुधार तथा स्तरोन्नतिका लागि आइतवार १४ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको छ । अस्पतालले प्रदान गर्दै आएको सेवा सुविधा प्रभावकारी र सन्तोषजनक नभएको भन्दै युवा संघले सेवा सुविधा सुधारको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

Advertisement

अस्पतालमा धर्नासहित ज्ञापनपत्र बुझाउँन युवा संघका नेता कार्यकर्ताहरू अस्पतालको प्रशासनिक भवन पुगेका थिए । उनीहरूले त्यहाँ केही समय धर्नासमेत दिए । सो अवसरमा राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष प्रविण पोख्रेलले अस्पताल विकास समिति अध्यक्ष निरेन तामाङ र जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा.मनिश शाहलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरे ।

सो अवसरमा युवा संघका अध्यक्ष पोख्रेलले पूर्वको पुरानो अस्पताल भएर पनि जिल्ला अस्पतालबाट बिरामीहरूले राम्रो उपचार पाउन नसकेको प्रति ध्यानाकर्षण गराए । राम्रो उपचार सेवा पाउन नसकेका कारण बिरामीहरू उपचारका लागि तराई झर्नुपर्ने बाध्यता रहेको भन्दै उनले अब जिल्ला अस्पताललाई सेवा सुविधा सम्पन्न बनाउँन माग गरे ।

युवा संघका केन्द्रिय सदस्य जमशेर छाराहाङले धनकुटा अस्पताललाई पहाडी जिल्लाको राम्रो र स्तरीय अस्पतालका रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।

ध्यानाकर्षण पत्र बुझ्दै अस्पताल विकास समितिका अध्यक्ष तामाङले अस्पतालको स्तरोन्नतीमा लागिपर्ने धारणा राखे । तत्काल गर्नुपर्ने र भविष्यमा सुधार्दै लैजानुपर्ने कामहरू छुट्याएर अस्पताललाई सेवा सुविधा सम्पन्न बनाइने उनको भनाई छ ।

यस्ता छन् १४ बुँदे माग

१. २०७९ असार २ गते अस्पताल विकास समितिले गरेको २४ सै घण्टा औषधी पसल र प्रयोगशाला सञ्चालन गर्ने निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने ।

२. एक्सरे, भिडियो एक्सरे, एसीजी जस्ता आधारभूत सेवाहरू २४ सैं घण्टा उपलब्ध गराउनु पर्ने ।

३. विगतमा प्रदान गरिदै आएको प्रसुती सेवा तथा शल्यक्रिया सेवा तुरुन्त सञ्चालनमा ल्याउनुपर्ने । 

४. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग भएको सम्झौता अनुसार त्यहाँका विशेषज्ञ चिकित्सकले जिल्ला अस्पतालमा अनिवार्य सेवा प्रदान गर्नुपर्ने । 

५. अस्पताल हाताभित्र शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, शौचालय व्यवस्थित र सरसफाइ चुस्तदुरुस्त गरिनुपर्ने ।

६. धनकुटा जिल्ला अस्पतालका वार्डभित्र रहेका जीर्ण शैय्याहरू परिवर्तन तथा व्यवस्थित गरिनु पर्ने ।

७. नेपाल सरकारको गत चैत्र महिनाको निर्णयानुसार २० मेडिकल कलेजले २० जिल्लामा विशेष शल्यचिकित्सक सेवा प्रदान गर्नु पर्ने भन्ने
सम्झौता अनुसार धनकुटा अस्पताललाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सेवा दिने सम्झौता भएकाले त्यो यथाशीघ्र कार्यान्वयन
गर्नुपर्ने ।

८. आईसीयू सञ्चालनका लागि सम्पुर्ण पूर्वाधारहरु तयार रहेकाले आवश्यक जनशक्तिको उचित व्यवस्थापन गरि यथाशीघ्र सञ्चालन गर्नुपर्ने ।

९. उपलब्ध दरबन्दी अनुसार मेडिकल अफिसर, चिकित्सक, नर्स, हे.अ., फर्मासिष्ट, अ.हे.व., अ.न.मी., लगायत स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गर्नुपर्ने ।

१०. बीमा बापत उपलब्ध गरिने औषधीहरुको नामावली सूचना पाटीमा उल्लेख गरि आम नागरिकलाई सूचना प्रदान गर्नुपर्ने ।

११. धनकुटा जिल्ला अस्पतालको स्तरोन्नती गरि १०० शैयामा विस्तार गर्ने प्रदेश सरकारको निर्णय कार्यन्यवनमा ठोस पहल गर्नुपर्ने ।

१२. मेडिकल काउन्सिल नम्बर नभएका इन्टर्नहरुले गर्दै आएको विरामी चेकजाचको काम बन्द गर्नुपर्ने ।

१३. शव बहान सञ्चालन तथा एम्बुलेन्स सञ्चालन प्रभावकारी बनाउनुपर्ने साथै आर्थिक पारदर्शिता हुनुपर्ने । 

१४. धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्स तथा अन्य स्वास्थ्य सस्थाबाट ओजेटीमा आएका विद्यार्थीहरुले तिरेको शुल्कको पारदर्शिता हुनुपर्ने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!