- रबिन कटेल/संगालोखबर

विराटनगर । गत स्थानीय तह निर्वाचनको विषयलाई लिएर मोरङको सुन्दरहरैंचामा कांग्रेसभित्र विवाद सृजना भएको छ । पार्टीभित्रको आन्तरिक कलहका कारण नेताहरू खुलेरै आरोप प्रत्यारोपमा उत्रिएका छन् । जसका कारण पार्टी कार्यालय तोडफोडसम्मको स्थिति सृजना भएको छ । गत मङ्गलबारका लागि तय भएको नगर कार्य समितिको नियमित बैठक नै भाँडिएको छ ।

Advertisement

कांग्रेसका तर्फबाट मेयर पदका लागि उम्मेदवार बनेका शिवप्रसाद ढकाल पराजित बनेपछि उनले पार्टीको बैठकमा अनधिकृत रुपमा असम्बन्धित व्यक्तिहरूलाई प्रवेश गराएर आपराधिक तरिकाबाट होहल्ला, हुलहुज्जत र तोडफोड गराएको नगर सभापति भक्तिप्रसाद सिटौला बताउँछन् । उनका अनुसार सो समूहले बैठकमा हुलहुज्जत गरी पार्टी कार्यालयको एउटा झ्याल र दुई वटा कुर्सी तोडफोड गरेको छ । करिब ५०/६० जनाको समूहमा आएको समूहले नगर सभापति सिटौलाको राजीनामा माग्दै होहल्ला गरेका थियो । बैठकमा होहल्ला र हानाहानको स्थिति सृजना हुने अवस्था बनेपछि बैठक सञ्चालन हुन नसकेर स्थगित गर्नु परेको सभापति सिटौलाले बताए । ‘शिव ढकालले मान्छेहरूलाई आफ्नै घरमा बिहानभर राखेर भात खुवाई बैठक भाड्न पठाएछन्, होहल्ला गरेर हानाहान हुने स्थिति बनेपछि बैठक स्थगित गर्नुपर्यो,’ सभापति सिटौलाले भने, ‘हारेपछि हार स्वीकार्न सक्नु पर्छ, पार्टीभित्र यस्तो हर्कत देखाउनु निन्दनीय विषय हो ।’

कांग्रेस सुन्दरहरैंचा नगर समितिले प्रेस विज्ञप्ति जारी गरेर घटनाको भत्सना पनि गरेको छ । ‘स्थानीय निर्वाचनको परिणामलाई लिएर गलत अफवाह फैलाउने, आफ्नो कमजोरी असक्षमता र अलोकप्रियतालाई ढाकछोप गर्न अनेक प्रपञ्च र प्रोपोगण्डा छर्ने र व्यक्तिगत मानमर्दन, गाली बेइज्जती र आक्रमण गर्नेसम्मको प्रयासमा उत्रने जस्तो अत्यन्तै गैरजिम्मेवार र निकृष्ट व्यवहार पार्टीकै केही जिम्मेवार व्यक्तिहरू र उनीहरूको निर्देशनमा भएको छ, जुन अत्यन्तै खेदजनक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विधि विधान र प्रकृयासंगत ढंगले प्रस्तुत हुनुको साटो असम्बन्धित हुल जत्थालाई अघि सारेर पानी माथिको ओभानो बन्ने प्रवृतिले मुठभेडको स्थिति निम्त्याउनेतर्फ सचेत गराउँन चाहन्छौँ ।’

बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा कांग्रेसले निवर्तमान मेयर शिवप्रसाद ढकाललाई सुन्दरहरैंचाको मेयर पदमा उम्मेदवार बनाएको थियो । उनी एमाले उम्मेदवार केदारप्रसाद गुरागाईसँग ७२७ मतान्तरले पराजित भए । एमाले उम्मेदवार गुरागाँई २१ हजार ४ सय ५ मतसहित बिजयी बन्दा कांग्रेस उम्मेदवार ढकालले २० हजार ६ सय ७८ मत प्राप्त गरे । उनले आफ्नै पार्टीका नेताहरूबाटै आफूमाथि अन्तर्घात भएको बताइरहेका छन् । नगर सभापति सिटौला, क्षेत्रीय सभापति देवु तामाङ्ग लगायतले सूर्यमा भोट हाल्न लगाउँने अभियान चलाएको भन्दै ढकालले निर्वाचनको मतगणना नसकिदै सामाजिक सञ्जालमा नामै किटेर लेखेका थिए ।

स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट ढकाल र सिटौला मेयर पदका आकांक्षी थिए । सिटौलाले टिकट नपाएपछि उनी आफुलाई हराउँन लागिपरेको ढकाल बताउँछन् । ‘चुनावमा मलाई हराउँन खुलेरै लागिपरे, अहिले आफ्नो गल्ति ढाकछोप गर्न लागिपरेका छन्,’ नेता ढकाल भन्छन्, ‘सूर्यमा भोट माग्नेदेखि आफ्नै वडामा बागी उम्मेद्वार उठाउँनेसम्म हर्कत गरे, अहिले आफु पानी मानीको ओभानो बन्न मलाई उल्टै आरोप लगाउँन थालेका छन् ।’

नगर कार्यसमितिको बैठकमा आफु नगएको र हुलहुज्जत गर्न आफुले कसैलाई नपठाएको उनको दावी छ । चुनावमा पार्टीका उम्मेदवारलाई हराउँन लागिपरेकाले सभापति सिटौलाको राजीनामा माग्दै कार्यकर्ताहरु स्वतस्फूर्त रुपमा बैठकमा प्रवेश गरेको उनको भनाई छ । नगरका मुख्य नेताहरुनै खुलेर आरोप प्रत्यारोपमा उत्रदा अन्य नेताहरू पनि पक्ष विपक्षमा विभाजित बन्न थालेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!