- गोमा ढुंगाना/संगालोखबर

विराटनगर । बेपत्ता भएको चार दिनपछि विराटनगरका दिदी-भाइ शनिवार फेला परे । तर, उनीहरूलाई कसले बेपत्ता बनाएको थियो भन्ने अझै खुलेको छैन । विराटनगर–८ जयनेपाल चोककी १८ वर्षीया प्रतिमा घिमिरे र उनका भाइ २ वर्षका प्रसिद्ध गत मंगलबार दिउँसोदेखि परिवारसँग सम्पर्कविहीन भएका थिए ।

Advertisement

उनीहरु उज्यालो नहुँदै साढे ४ बजे बिहान घर आइपुगेका हुन् । चारदिनसम्म बालकालिका बेपत्ता हुनु र एकाबिहानै अँध्यारोमै घर आइपुग्नुलाई रहस्यमय हिसाबले हेरिएको छ । उनीहरूलाई कसले, कहाँ र किन लगेको खुलेको छैन, चार दिनपछि कसले ल्याएर छोडिदियो भन्ने पनि पत्तो छैन । ‘चारदिनपछि उनीहरु आफै घर आइपुगे, यत्रो दिनसम्म कहाँ थिए भन्ने पत्तो लागेकै छैन,’ प्रतिमा र प्रसिद्धकी फुपु किरण रिमालले भनिन्, ‘एकाबिहानै अँध्यारोमै उनीहरूलाई कसले ल्याएर छोडिदियो थाहा छैन । सोधिखोजी गर्दा नानी डराएर बोल्नै मानिरहेकी छैन ।’

शनिवार दिनभर जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ गर्दा पनि प्रतिमा डराएर बोल्न मानिनन् । जसका कारण घटनाको रहस्य पत्ता लाग्न सकिरहेको छैन । बालकालिका बेपत्ता भएपछि उनीहरूको खोजतलासका लागि परिवारले प्रहरीमा उजुरी दिएका थिए । परिवारका सदस्यले उनीहरु जानसक्ने सम्भावित आफन्तहरू सबै ठाउँमा सम्पर्क गरे, तर कहीं पत्तो लागेको थिएन । उनीहरु नभेटिँदा परिवारका सदस्य आत्तिएका थिए । प्रहरीले पनि उनीहरूको खोजीलाई तिव्रता दिएको थियो । उनीहरूलाई भारततर्फ लगिएको हुनसक्ने आशङ्कामा प्रहरी टोली भारतको भागलपुरसम्म पुगेको भएपनि बालकालिका अचानक आफै घर आइपुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी शान्तिराज कोइराला बताउँछन् ।

एसपी कोइरालाका अनुसार हराउनु अघि उनीहरूसँग सम्पर्कमा जोडिएका शंकास्पद व्यक्तिको लोकेसनका आधारमा प्रहरी टोली भारतको भागलपुरसम्म पुगेको हो । उनीहरूलाई भारतर्फ लागिएको हुनसक्ने प्रहरीको आशंका थियो । तर, चारदिनपछि बालकालिका आफै घर आइपुगेपछि प्रहरी पनि आश्चर्यमा परेको छ । परिवारस्रोतका अनुसार हराएका दिदी भाइ एउटै वावु र सौतेनी आमाका सन्तान हुन् । वालका जेठी आमा र बालक कान्छी आमाबाट जन्मिएका हुन् । प्रतिमा ९ वर्षकी हुँदा मृगौलाको समस्याका कारण उनकी आमाको निधन भयो । त्यसपछि बुवा प्रदिपले अर्को विवाह गरे । उनले अन्तरजातीय विवाह गरेर अर्की श्रीमती ल्याए । कान्छी आमाबाट प्रसिद्धको जन्म भएको हो । कान्छी आमा पनि अहिले छोडेर अन्तै गएकी छन् ।

उनीहरुका बुवा प्रदिप पनि ठेक्कपट्टा कामको सिलसिलामा भोजपुर लगायत पहाडी जिल्लामै बढी बसोवास गर्ने गरेका छन् । उनीहरु हजुरबा, हजुरआमा र ठूलोबुवाको परिवारसँगै बस्दै आएका थिए । बेपत्ता भएर भेटिएका दुई बर्षीय प्रसिद्धको बोलीपनि राम्रोसँग फुटिसकेको छैन । दिदी प्रतिमाले डराएर घटनाको बिषयमा केही बोल्न नमाल्दा यथार्थ पत्ता लगाउँन समस्या भएको एसपी कोइराला बताउँछन् । ‘वालिका डराइरहेकी छन्, उनले केही बोल्न नमान्दा घटनाको यथार्थ पत्ता लाग्न समस्या भइरहेको छ, हामीले फकाएर सोध्ने प्रयास गरिरहेका छौं,’ एसपी कोइराला भन्छन्, ‘उनलाई कसैले धाक धम्की दिएर केही नभन्नु भनेको हुनसक्ने अनुमान गरेका छौं ।’

घर आइपुगेपछि वालवालिकालाई जिल्ला प्रहरी कार्यालय ल्याएर सोधपुछ गर्ने काम भइरहेको छ । बोली नफुटेको हुनाले वालकलाई घर पठाइएको छ । वालिकालाई प्रहरी कार्यालयमै राखिएको छ ।

यसअघि प्रकाशित समाचार…

विराटनगरबाट हराएका दिदी-भाइ चार दिनपछि भेटिए

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!