- रबिन कटेल/संगालोखबर

धनकुटा, २४ साउन । धनकुटामा स्क्रव टाइफस रोगको संक्रमण देखिएको छ । स्क्रव टाइफसका कारण धनकुटाकी एक बालिकाको मृत्यु भएको छ । संकास्पद तीन जना बिरामीलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाको खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिका–२ की ८ बर्षीया नुमाहाङ राईको स्क्रव टाइफस रोगका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख डा.मदनकुमार उपाध्यायले संगालोखबरलाई जानकारी दिए । अत्याधिक ज्वरो आउँने लगायतका लक्षण देखिएपछि बालिकालाई उपचारका लागि करिव एक साता अघि जिल्ला अस्पताल धनकुटा ल्याईएको थियो ।

धनकुटामा उपचार हुन नसकेपछि उनलाई धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगियो । उनको प्रतिष्ठानमा उपचारका क्रममा तीन दिन अघि मृत्यु भएको हो । धनकुटामा स्क्रव टाइफसको जस्तै लक्षण देखिने अन्य विरामीहरु पनि फेला पर्न थालेका छन ।

जिल्ला अस्पतालमा आएका स्क्रव टाइफस जस्तै मिल्दाजुल्दा लक्षण देखिएका तीन जना बिरामीलाई धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको जिल्ला स्वास्थ्य प्रमुख डा.उपाध्यायले जानकारी दिए ।

धनकुटा जिल्ला अस्पताल । तस्वीर-संगालोखबर

उनका अनुसार पाख्रीवास नगरपालिकाका दुई र खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिकाका एक विरामीलाई स्क्रव टाइफसको जस्तै लक्षण देखिएपछि घोपा पठाईएको हो ।

धनकुटामा यो रोगको परिक्षण नहुँने भएकाले धरान पठाईएको उनले बताए । स्क्रव टाइफस रोग लागेपछि उपयुक्त उपचार नपाएमा करिव दुई साता भित्र बिरामीको मृत्यु हुने जिल्ला स्वास्थ्य प्रमुख डा. उपाध्याय बताउँछन । ‘यसको लक्षण पनि ढिलो देखा पर्छ ।’ उनी भन्छन ‘उपयुक्त उपचार नपाएमा लक्षण देखिएको करिव दुई साता भित्रै बिरामीको मृत्यु हुन्छ ।’

यो रोगको उपचार जिल्ला अस्पताल र अञ्चल अस्पतालहरुमा नहुँने भएकाले थप समस्या हुने गरेको छ ।धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र काठमाण्डौमा मात्र स्क्रव टाइफसको उपचार हुन्छ ।

मुसा वा सोही प्रकारको जीवजन्तुमा हुने किर्नाले मानिसलाई टोकेपछि यो रोग मानिसमा सर्ने चिकित्सकहरुको भनाई छ । सो रोग लागेपछि टाउको दुख्ने, उच्च ज्वरो आउँने, शरिरका बिभिन्न भागमा मसिना बिमिरा आउँने लगायतका लक्षण देखिन्छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!