- संगालोखबर सम्वाददाता

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले प्रदेश १ को नाम ‘कोशी’ राख्न उचित हुँने बताएका छन् । प्रेस चौतारी धनकुटाले आइतवार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन् ।

Advertisement

साझा पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नु उचित हुँने भन्दै महासचिव पोख्रेलले सबैको प्रतिनिधित्व गर्ने भएकाले प्रदेश १ को नाम ‘कोशी’ राख्नु नै उचित हुँने बताए । नदीसँग जोडिएको प्राचिन नाम भएकाले सबै प्रदेशबासीको हितलाई हेर्दा कोशी नाम नै उचित हुँने उनको तर्क छ । ‘पूर्वको किराँत सभ्यतासँग पनि जोडिएको नाम हो कोशी, यो प्राचिन नाम हो,’ महासचिव पोख्रेलले भने, ‘सबै प्रदेशवासीलाई समेट्ने गरी साझा पहिचानका आधारमा नाम राख्नु पर्ने भएकाले प्रदेश १ को नाम कोशी नै उचित हुन्छ ।’

प्रदेश १ को एमाले संसदीय दललाई प्रदेशको नाम कोशी राख्न उचित हुँने सुझाव दिइएको भन्दै महासचिव पोख्रेलले अब संसदीय दलमा छलफल पश्चात यो बिषयको टुंगो लगाइने बताए । यसअघि शनिवार झापाको विर्तामोडमा आयोजित प्रेस चौतारीको प्रदेश अधिवेशनलाई संवोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रदेश १ को नाम कोशी राख्नुपर्ने बताएका थिए ।

फरक प्रशंगमा बोल्दै महासचिव पोख्रेलले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार असफल भएको आरोप लगाए । मूलबृद्धि आकासिनु, विदेशी मुद्राको संचिती घट्नु, मौद्रिक तरलता बढ्नु, विदेशीने युवाहरुको संख्या बढ्नु, रेमिट्यान्स घटेर हुण्डी कारोवारसहित अबैध गतिविधि बढ्नु जस्ता कारणले सरकार असफल सावित भएको नेता पोख्रेलको भनाई छ ।

नेकपा एमाले धनकुटाले आइतवार आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई संवोधन गर्न महासचिव पोख्रेल धनकुटा आएका हुन् । कार्यकर्ता भेला पश्चात प्रेस चौतारीले अपरान्ह पत्रकार सम्मेलन गरेको हो । प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सचिव भीम मल्लले गरेका थिए । कार्यक्रममा सहभागिहरुलाई प्रेस चौतारीका उपाध्यक्ष मनिषा पोख्रेलले मन्तब्यमार्फत स्वागत गरेकी थिइन् ।

तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!