Avatar photoSangalo Khabar
धेरै युवायुवती डन्डीफोरको समस्याले पीडित हुने गरेका छन् । डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो भन्ने कुरा नबुझ्दा र डन्डीफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहारको सुन्दरता गुमाउँछन् ।
मानिसको शरीरमा हुने रौँको फेदमा स–साना प्वाल हुन्छन् । रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ । यो ग्ल्यान्डले छालालाई चिल्लो बनाउने विशेष प्रकारको रस उत्पादन गर्छ ।
जुन बेला रौँको जरामा रहेको प्वाल बन्द हुन्छ, त्यस्तो बेलामा छालालाई चिल्लो बनाउने रस बाहिर निस्कन पाउँदैन । यो छालाभित्रै जम्छ । यसरी जमेको अवस्था नै डन्डीफोर अर्थात् पिम्पल्सको अवस्था हो ।
डन्डीफोरका चारवटा तह हुन्छन् । स्वास्थ्य विज्ञानले ग्रेड एकदेखि चारसम्म यसको वर्गीकरण गरेको छ । डन्डीफोरको पहिलो चरण ‘ब्ल्याक हेड’ हो । काला स–साना गिर्खा अनुहारमा भएको अवस्थालाई नै ब्ल्याक हेड मानिन्छ । चौथो चरणमा पुगेको डन्डीफोरमा पीप र रगत नै जमेको हुन्छ ।
डन्डीफोर आइसकेपछि त्यसमा ब्याक्टेरियाको इन्फेक्सन हुने भएकाले यसले छालालाई थप हानि पु¥याउँछ । अनुहार, छाती, कुम र कहिलेकाहीँ ढाडमा पनि डन्डीफोर आउँछन् ।
कपडाले ढाक्ने भागमा डन्डीफोर आउँदा खासै फरक पर्दैन । तर, अनुहारमा डन्डीफोरले दाग, धब्बा र स–साना खोपिल्टा छोडेर जाने भएकाले यो धेरैको पिरलो बन्ने गरेको छ । डन्डीफोर धेरै चिल्लो छालामा देखिने रोग हो ।
यसबाट जोगिन छालालाई ड्राई राख्ने कुरामा ध्यान दिनुपर्छ । जीवनशैलीमा ध्यान दिनुपर्छ । धेरै चिल्लो खानु हुँदैन । चकलेट धेरै खानेहरूलाई पनि डन्डीफोरको समस्या देखिन सक्छ । डन्डीफोर आएकाले तेलबाट जोगिनुपर्छ ।
कपालमा तेल हालेर बस्ने गर्नु हुँदैन । अनुहारको चिल्लो हटाउन क्लिन्जिङ गर्नुपर्छ । दिनमा तीनचारपटक मुख धुनुपर्छ । छालालाई सुक्खा बनाउने क्रिम लगाउनुपर्छ । डन्डीफोरले निकै नै दुःख दिएको छ भने एन्टिबायोटिक क्रिम लगाउने र औषधि खानुपर्ने पनि हुन्छ ।
डन्डीफोरले बिगारिसकेको अनुहारको छालालाई सफा बनाउन औषधि र क्रिमले मात्र काम गर्दैनन् । यसका लागि लेजर थेरापी गर्नुपर्छ । डन्डीफोरका कारण दाग बसेको छालालाई मेसिनको सहायताबाट हटाउने विधि प्रयोग गरी उपचार गर्नुपर्छ ।
यो विधिमा दाग बसेको छालाको बाहिरी तहलाई हटाउने र नयाँ छाला पलाउने अवस्था सिर्जना गरिन्छ । यसो गर्दा समेत अनुहारको शतप्रतिशत दाग भने जाँदैन । केही कम गर्न सकिन्छ ।
डन्डीफोर आउन थालेपछि त्यसलाई कोट्याउने तथा निचोर्ने नगरी विशेषज्ञ चिकित्सकलाई देखाएर थोरै सावधानी अपनाउँदा अनुहारमा आउने समस्याबाट बच्न सकिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement