- संगालोखबर सम्बाददाता

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन् । बिहिबार बिहान सार्वजनिक मत परिणाम अनुसार १६९ मतसहित नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् । उनले प्रतिद्धन्द्धी मुक्साहाङ मेन्याङ्बो (मुकेश) लाई १०५ मतान्तरले पराजित गरेका छन् । अध्यक्षका प्रत्याशी मेन्याङ्बोले ६४ मत ल्याएका हुन् ।

Advertisement

उपाध्यक्षमा १२० मतसहित देवान चाम्लिङ, ११३ मतसहित शिवकुमार डाँगी र १११ मतसहित मणिकुमार साम्पाङ निर्वाचित भएका छन् । उपाध्यक्ष पदका लागि आठ जना उम्मेद्वारबीच प्रतिष्पर्धा भएको थियो । सचिवमा १४८ मतसहित गणेश उप्रेती (सुशिल) निर्वाचित भए । उनका प्रतिद्वन्द्वी सीपी कडरियाले ८३ मत ल्याएका छन् ।

यस्तै, सह–सचिवमा ११४ मतसहित कुमारी राई, ९५ मतसहित ऋषिराम ढुंगाना (कुशुम) र ७३ मतसहित सागर किराँती निर्वाचित भएका छन् । तीन जना निर्वाचित हुँने सह–सचिव पदका लागि १३ जना उम्मेद्वारबीच प्रतिष्पर्धा भएको थियो । त्यस्तैगरी, कोषाध्यक्षमा ९३ मतसहित रेवतराज पुरी (गगन) विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी बन्दना झाँगडले ५७ मत ल्याएकी छन् ।

माओवादी केन्द्र प्रदेश समितिको पदाधिकारीमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सह–सचिव र १ कोषाध्यक्ष रहने प्रावधान छ । १३ पदाधिकारीका लागि २९ जना उम्मेद्वार भिडेका थिए । अध्यक्षमा दुई, उपाध्यक्षमा आठ, सचिवमा दुई, सह–सचिवमा १३ र कोषाध्यक्षमा चार जना उम्मेद्वारबीच प्रतिष्पर्धा भएको थियो । २५९ प्रदेश कमिटी सदस्य मतदाता रहेको निर्वाचनमा २४० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

यसअघि मंसिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको थियो । तर, आकांक्षी धेरै हुँदा पदाधिकारी चयन हुँन सकेको थिएन । सहमति जुट्न नसक्दा मतदान प्रकृयाबाट नयाँ नेतृत्व चयन गरिएको हो । लामो समयसम्मको प्रयासमा पनि सहमति नजुटेपछि बिहिबार साँझ विराटनगरको तिनपैनीस्थित पार्टीको प्रदेश कार्यालयमा मतदान गरिएको थियो । मतदान पश्चात राती नै मतगणना गरेर मत परिणाम सार्वजनिक गरिएको हो ।

यसैबीच, नव निर्वाचित पदाधिकारीहरुलाई बिहिबार बिहान नै पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ । माओवादी केन्द्रका प्रदेश इन्चार्ज राम कार्कीले सपथ ग्रहण गराएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!