
नदी किनारमा भेट भएको दिन
मेरो आँखामा हेर्दै
पखाल्यौ एक अञ्जुली अनुहार
तिमीले छोएपछि पनि
उँधै बगिरह्यो
रिसले फन्किएर उक्लिएन पानी पहाडतीर ।
तिमीले टेकेपछि पनि
एक्लै हिंडिरहेको बाटो
भागेन जंंगलतिर
भिरतीर
एकान्ततिर
उसैगरि पु¥यायो गन्तव्यमा हाम्रा पाइतालाहरु
तिम्रा चीसा हातहरु सेकाउँदा
निभेन आगो
मानिरहे सल्किन दाउराहरु
बाँडिरह्यो तातो सम्बन्ध दुवैलाई
र रातले एउटै मूल्यमा
उस्तै सपना बेचिरह्यो
तिमीलाई फकाउँदै
मलाई फकाउँदै ।
अर्को दिन सूर्योदय सँगै
उस्तै उज्याले पिएपछि
तिमीले समायौ
मेरो काँधबाट लत्रिरहेको जनैको शिका
ॐ भुर्भुवस्वः …………….
दुवैले जपिरहँदा
तिमीतर्फ फर्किएर मुस्कुरायो घाम
मलाई हेरेर हाँसिरह्यो घाम ।
त्यसै दिनदेखि आजसम्म
नछुटाई हाम्रा हातहरु
घुमीरहेछौं पृथ्वी सँगै
हाम्रो सामिप्यता देखेर
बल्न छोडेको छैन दियो
रोकिएको छैन निरन्तरता
र रिसाएका छैनन् कुनै ढुंंगाका मूर्तिहरु ।
आज पनि ताजा छ सम्झना
हामी पहिलोपल्ट बोलेको दिन
तिम्रो प्रश्न थियो
म अछुत हुनुको पीडाले
किन रुवाउछ तिमीलाई ?
तिमी ब्राम्हण हुनुको हर्षले
किन हसाउँदैन मलाई ?
र मेरो प्रश्न थियो
तिमी अछुत हुनको पीडाले
किन रुवाउँछ मलाई ?
म ब्राम्हण हुनको गर्वले
किन हसाउँदैन तिमीलाई ?