संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका सात वटै पालिकामा नेकपा एमालेको नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनबाट धनकुटा, पाख्रीवास र महालक्ष्मी नगरपालिका तथा छथर जोरपाटी, साँगुरीगढी, चौविसे र सहिदभूमि गाउँपालिकामा एमालेको नयाँ नेतृत्व चयन भएको हो ।

Advertisement

बुधबार अपरान्हसम्ममा जिल्लाका तीन नगरपालिका र चार गाउँपालिका गरी सात वटै पालिकामा अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भएको एमाले धनकुटाका प्रचार बिभाग प्रमुख भेषराज कटेलले जानकारी दिए । महालक्ष्मी नगरपालिकामा अध्यक्ष तथा छथर जोरपाटी गाउँपालिकामा अध्यक्ष र सचिव पदमा सहमति जुट्न नसकेपछि मतदान प्रकृयाबाट टुंगो लगाइएको छ ।

अधिवेशनबाट अर्जुन छाराहाङ्ग पुनः एमाले धनकुटा नगर कमिटीको अध्यक्ष बनेका छन् । नगर कमिटीको उपाध्यक्षमा सिंह तितुङ्ग, सचिवमा चन्द्रकृष्ण ठकुरी, उप–सचिवमा लक्ष्मण घिमिरे र जम्शेर राई चयन भएका छन् । अधिवेशनले ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको नव निर्वाचित अध्यक्ष छाराहाङ्गले संगालोखबरलाई जानकारी दिए । त्यस्तै, पाख्रीवास नगरपालिकामा पनि शान्तिराम गौतम पुनः एमाले नगर कमिटी अध्यक्ष भएका छन् । उपाध्यक्षमा लोकेन्द्र घिसिङ्ग, सचिवमा सिताराम राई, उप–सचिवमा कृष्णप्रसाद धमला र सरोज राई चयन भएका छन् । पाख्रीवासमा पनि ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत गठन गरिएको हो ।

साँगुरीगढी गाउँपालिकामा बालकृष्ण राईको अध्यक्षतामा ६५ सदस्यीय एमाले गाउँपालिका कमिटी सर्वसम्मत चयन भएको छ । कमिटीको उपाध्यक्षमा विनय राई, सचिवमा पूर्ण खजुम, उप–सचिवमा बेलेन्द्र राई र जितबहादुर राई चयन भएका छन् । वाँकी १० सदस्य पछि मनोनित गरिने नव निर्वाचित अध्यक्ष राईले बताए । चौविसे गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गरिएको छ । राजकुमार चेम्जोङ्ग अध्यक्ष, टंक कुमारी मगर उपाध्यक्ष, जीवन कटुवाल सचिव तथा जवान सिंह लिम्बु र देवकुमारी विक उप–सचिव रहेको ७५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत चयन भएको एमाले प्रचार बिभाग सचिव सन्तोष रुचालले जानकारी दिए ।

सहिदभूमि गाउँपालिकामा दुई दिनदेखिको रस्साकस्सीपछि अन्ततः बुधबार अपरान्ह सहमति जुटेर नीरबहादुर राईको अध्यक्षतामा ७५ सदस्यीय एमाले सहिदभूमि गाउँपालिका कमिटी गठन भएको छ । समितिको उपाध्यक्षमा मातृका राई, सचिबमा हेमकुमार राई, उप–सचिवमा फडिन्द्र थापा र बलिन्द्र राई चयन भएका छन् । एमालेले मंगलबार देशभर पालिका अधिवेशन आयोजना गरेको हो । तर, सहिदभूमिमा अध्यक्ष र सचिवका आकांक्षीहरुबीच सहमति जुट्न समय लाग्दा बुधबार दिउँसो मात्र पालिका कमिटी गठनले पूणता पाएको छ ।

महालक्ष्मी र छथर जोरपाटीमा मतदानबाट टुंग्याइयो नेतृत्व

महालक्ष्मी नगरपालिकामा मतदान प्रकृयाबाट अध्यक्षको टुंगो लगाइएको छ । पार्टीको वडा नं. ६ का अध्यक्षसमेत रहेका किरणवावु गिरी मतदानबाट बिजयी भन्दै एमाले महालक्ष्मी नगर कमिटीको अध्यक्ष बनेका छन् । प्रतिद्धन्द्धी इन्द्र पौडेललाई १४ मतान्तरले पराजित गर्दै गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । १५७ मतसहित गिरी बिजयी बन्दा पौडेलले १४३ मत पाएका छन् । अध्यक्ष बाहेक वाँकी ७४ पद भने सर्वसम्मत रुपमा चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा युवराज पौडेल, सचिवमा भरत थापा, उपसचिवमा चुम व. आले मगर (जोनपाल) र चेतनाथ बराल (मिलन) चयन भएका छन् । माओवादी परित्याग गरेर मंगलबार मात्रै एमाले प्रवेश गरेका महालक्ष्मी–३ का वडाध्यक्ष थापालाई एमालेले सोही दिन नगर कमिटीको सचिवको जिम्मेवारी दिएको छ ।

यता, छथर जोरपाटी गाउँपालिकामा पनि सहमति जुट्न नसकेपछि मतदान प्रकृयाबाट अध्यक्ष र सचिवको टुंगो लगाइएको छ । प्रतिद्धन्द्धी शिव कुमार श्रेष्ठलाई ५३ मतान्तरले पराजित गर्दै इन्द्र सारु मगर पुनः एमाले छथर जोरपाटी गाउँपालिका कमिटीको अध्यक्ष बनेका छन् । १०१ मतसहित मगर बिजयी बन्दा श्रेष्ठले ४८ मत पाएका छन् ।

यता, सचिबमा पनि आकांक्षी धेरै भएर सहमति जुट्न नसक्दा मतदान गरिएको छ । मतदानबाट बिजयी बन्दै निलबहादुर थापा सचिवमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी चन्द्र कुमार लिम्बुलाई २ मतान्तरले पराजित गरेका हुन् । सचिवमा थापा र श्रेष्ठसँगै लोकेन्द्र चापागाई पनि प्रतिष्प्रधामा थिए । थापाले ५६, लिम्बुले ५४ र चापागाईले २९ मत पाएका छन् । वाँकी ६३ पद भने सर्वसम्मत रुपमा टुंगो लगाइएको छ । अहिले ६५ सदस्यीय गाउँ कमिटी गठन गरिएको र वाँकी १० सदस्य पछि मनोनित गरिने नव निर्वाचित अध्यक्ष मगरले जानकारी दिए ।

 

यसअघि प्रकाशित…

धनकुटामा एमाले पालिका अधिवेशन: चार पालिकामा सर्वसम्मत, दुईमा मतदान, एकमा अन्यौल

 

एमाले पालिका अधिवेशन: सहिदभूमिमा पनि जुट्यो सहमति, सर्वसम्मत नेतृत्व चयन

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!