विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ४३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १८४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुटामा ७, इलाममा ५, ताप्लेजुङ, भोजपुर, उदयपुर र तेहृथुममा १/१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो ।
झापाको विर्तामोडमा २४, मेचीनगर र कनकाईमा २०/२०, अर्जुनधारा र भद्रपुरमा १७/१७, दमकमा १५, शिवसताक्षीमा ९, कमल गाउँपालिकामा ४, हल्बिारीमा ३, कचनकवल, गौरादह र बुद्धशान्तिमा २/२, बाहृदशीमा १ जना संक्रमित भएका छन् । त्यस्तै मोरङको विराटनगरमा ४४, सुन्दरहरैचा र रंगेलीमा ३/३, मिक्लाजुङ, रतुवामाई, बेलबारी, पथरीशनिश्चरे र उर्लाबारीमा २/२, बुढीगंगा र धनपालथानमा १/१, सुनसरीको धरानमा २३, इटहरीमा ८, इनरुवा, बराहक्षेत्र र रामधुनीमा २/२, हरिनगरमा १ जनामा संक्रमण देखिएको हो ।
यता, धनकुटाको धनकुटा नगरपालिकामा ५, छथर जोरपाटी र साँघुरीगढीमा १/१, इलामको इलाम नगरपालिकामा ३ र सुर्योदयमा २, ताप्लेजुङको फुङलिङ, भोजपुरको पौवादुङ्मा, तेहृथुमको म्याङलुङ र उदयपुरको स्थानीय तह नखुलेका १/१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ मा आज ४१० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २१२ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
















