मुलुकबाट राजतन्त्र अन्त्य भएको १३ वर्ष भयो। तर, गोरखा र धादिङका हजारौं रोपनी जग्गा जमिनको धनी ‘श्री ५ को वायुगुठी’ छ। पुस्तौंदेखि किसानले कमाई आएको जग्गाजमिन तथा घरघडेरीको लालपुर्जामा जग्गाधनी ‘श्री ५ को वायुगुठी’ अंकित छ। पुस्तौंदेखि किसानले खेती गर्छन्, कर तिर्छन्। तर, स्वामित्व भने अझै पाएका छैनन्।
गोरखाको आरुघाट गाउँपालिका–३ र ४ (पुरानो थुमी गाविस) र धादिङको नेत्रावती गाउँपालिका र नीलकण्ठ नगरपालिकाका कटुञ्जे र ज्यामरुङका जग्गाजमिनको स्वामित्व ‘श्री ५ को वायुगुठी’ मा रहेको स्थानीयवासी बताउँछन्।
राजसंस्था र श्री ५ नै अस्तित्वमा नरहेको अवस्थामा दूरदराजका किसानलाई ‘श्री ५ को अल्झो’ मा राख्नु न्यायपूर्ण नहुने अगुवा किसानहरूको भनाइ छ। गोरखाको पुरानो थुमी गाविसका ७ सय ४९ जना किसानले आवादी गरेका खेतबारी र घरघडेरी श्री ५ को वायुगुठीको नाममा छ। ७३ जना किसानको मात्र आफ्नो नाममा लालपुर्जा रहेको मालपोत कार्यालयको तथ्यांकमा उल्लेख छ। आर्खेत बजार र ढुंगेफाँटका दुई बस्ती अझै पनि ज्यामरुङ दरबारका राजा लीलाविक्रम शाहको नाममा छ।
‘ढुंगेफाँट र आर्खेत बजारको जग्गा–जमिनमा स्थानीयवासीले बजार गुल्जार गरिसकेका छन्। किसानले खेती गरिरहेका छन्, कर पनि किसानले नै तिर्छन्, तर लालपुर्जा लीलाविक्रमको नाममा छ’, स्थानीय ईश्वरी लामिछाने भन्छन्, ‘खेती गरेको चार पुस्ता भइसक्यो, तैपनि घरजग्गा यहाँका किसानको नाममा छैन।’ २०४० साल अघिदेखि मोहीले आफ्नो नाममा लालपुर्जा बनाउन धेरै नै कसरत गरे, तर अझै नसकेको उनको भनाइ छ। ‘जति दौडधुप र प्रयास गर्दा पनि आफ्नो नामको लालपुर्जा बनाउने किसानको धोको अधुरै रह्यो’, उनले भने।
‘जमिन कमाई गरेबापत बहुदल आएको धेरै वर्षपछिसम्म पनि बोका, राँगो, भेडा, घ्यु लगेर ठकुरीको दरबारमा बुझाउनुपथ्र्यो’, आर्खेतका परिचित अधिकारी भन्छन्, ‘किसानको विभिन्न चरणको आन्दोलनपछि अहिले त्यस्तो सामान त बुझाउनु पर्दैन तर, जग्गाजमिन किसानको नाममा आएको छैन। श्री ५ को वायु गुठीको नाममा छ।’
लालपुर्जा आफ्नो नाममा नहुँदा किसानले जग्गा धितो राखेर बैंकबाट ऋण लिन पाएका छैनन्। अरू ठाउँका किसानले गाउँकै वडा कार्यालयमा कर तिर्छन्। यहाँका किसान भने कर तिर्न मालपोत कार्यालय धाउनुपर्ने बाध्यता छ।
‘गरेर खान त पाइएकै छ, स्थानीय ईश्वरी लामिछाने भन्छन्, ‘कहिलेकाहीँ पैसाको खाँचो पर्छ। बैंकमा जग्गा राखेर नगद झिकेर केही काम गरौंला भन्न पाइएन।’ गुठीको नामको जग्गा राखेर बैंकले ऋण नदिने लामिछाने बताउँछन्। ‘अरू गाउँलेहरू गाउँकै वडा कार्यालयमा कर तिर्छन्, हामी दुई दिनको कामको माया मारेर कर तिर्न मालपोत कार्यालय धाउनुपर्छ,’ उनले दुःखेसो पोखे। राजाको शासन (राजतन्त्र) सकिएर जनताको शासन (गणतन्त्र) आए पनि किसानले व्यवहारमा महसुस गर्न नपाएको उनको भनाइ छ।
२०७०÷०७१ सालमा श्री ५ को वायुगुठीको नाममा रहेको जग्गाको कर अचाक्ली वृद्धि भयो। त्यतिबेला किसानहरूले आन्दोलन गरे। मोहीको नाममा लालपुर्जा बनाउन स्थानीय किसानले धेरै नै मेहनत गरे। तैपनि सफल भएनन्। कर घट्यो, तर जग्गा किसानको नाममा आएन।
‘हाम्रो लालपुर्जाको शिरानमा श्री ५ को वायुगुठी भनेर लेखेको हुन्छ। पहिले–पहिले त अझै तिरो पनि ठकुरीको दरबारमा बुझाउनु पथ्र्यो’, स्थानीय ईश्वरी लामिछाने भन्छन्, ‘हामीले आन्दोलन गर्यौँ। पछि मालपोतमै कर बुझाउन पायौं। कर पनि घट्यो तैपनि लालपुर्जाको टाउकोमा लेखिएको श्री ५ को वायुगुठी मेटाउन पाएनौं।’
२०३८ सालको नापीपछि लालपुर्जामा मोहीको नाम उल्लेख गर्न थालिएको छ। तर, लालपुर्जाको सिरानमा श्री ५ को वायुगुठी भनेर उल्लेख कायमै छ।
श्री ५ को गुठीको स्वामित्वमा रहेको जग्गालार्ई किसानको नाममा ल्याउन जनप्रतिनिधि आएपछि पनि पहल गरिएको थियो। ‘रैकर गरिपाऊँ भनेर गत २०७०÷२०७१ सालतिर सबै किसानका लालपुर्जा जम्मा गरेर गुठी संस्थानमा लगेर बुझाएका थिए। मालपोतमा पनि निवेदन दिएका थिए’, आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले भने, ‘हामी जनप्रतिनिधि आएपछि पनि धेरै पहल भयो, कसैको केही जोर चलेन। अलिकति कर घट्यो त्यत्ति मात्र उपलब्धि भयो। हाम्रो कुरा पनि बिकेन।’ आफ्नो गाउँठाउँको कुनै नेता गुठीसँग सम्बन्धित मन्त्री भएमा मात्र यहाँको समस्या समाधान हुन सक्ने अध्यक्ष ढकालले तर्क गरे।
वायु पूजा गर्ने व्यवस्था सरकारले गरिदिएमा सो जग्गाको लालपुर्जा किसानको नाममा बनाउन सकिने उपाय बताउँछन्, पूर्वगाविस अध्यक्ष तेजबहादुर धमला। ‘चलिआएको संस्कार, संस्कृति त चलाउनै पर्यो। गरिआएको पूजापाठ त गर्नैपर्यो’, उनी भन्छन्, ‘सरकारले चाह्यो भने श्री ५ को वायु पूजा गर्न निश्चित बजेटको व्यवस्था गरिदिएर जग्गा जमिन चाहिँ किसानको नाममा गरिदिन सक्छ। – यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा शिव उप्रती र मनिष दुवाडीले लेखेका छन् ।