- मणिकुमार श्रेष्ठ ‘सिजन’
मणिकुमार श्रेष्ठ ‘सिजन’

प्राक्कथन:
‘अब त ढिलो हुन्छ की साथी हो, बन्दैन देशले आफै बुझ्नु जाती हो ।’ गायक हेमन्त शर्माको स्वर, संगीत र शब्द रहेको यस गीतको सन्देशले वास्तवमा हामी नेपालीहरुले अब ढिला गर्नु हुदैन आफ्नो देशको विकासको लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने बेला भएको छ, सिंगो देशले बिकासको मुहार फेर्न खोजिरहेको छ । हामी नौं जवानहरुको आवश्यकता महशुस गरिरहेको छ । यस आलेखको मूल बिषयमा जानुभन्दा पहिले केही देशको राष्ट्र प्रमुखको उमेर र ती देशको युवाको उमेर हद बारे तालिकामा हेरौं ।

‘यो विश्वले युवाहरुको गुणहरुको माग गर्दछ, जीवनको समय होइन, तर मनको एक राज्य, इच्छाको एक स्वभाव, कल्पनाको एक गुण डर लाग्दोमा साहसको एक प्रबलता, सहज जीवनमा भर पर्दछ ।’ –रोबर्ट केनेडी ।
केनेडीको यो भनाईलाई आधार मान्ने हो भने युवाहरुको जीवनको समयभन्दा पनि यो विश्व बजारले उनीहरुका ज्ञान र क्षमतालाई खोजिरहेको छ । यसरी हामीले विश्व बजारको माग बमोजिम युवाको क्षमता विकास र उनीहरुको सीप साथै सामाजिक क्षेत्रमा यूवाहरुको सहभागिता बढाउन सक्नु पर्दछ ।

को हुन युवा:
नेपालको राष्ट्रिय युवा नीति २०६६ मा युवालाई राष्ट्रको मूल सम्पतिको रुपमा व्याख्या गरिएको छ । राज्यको आस स्रोत र परिवर्तनको बाहकको रुपमा युवा शक्तिलाई ठानेको छ । यसैगरी आर्थिक, सामाजिक, राजानीतिक र सांस्कृतिक रुपान्तरणको अग्रदुत तथा परिवर्तनको सम्वाहक शक्तिको रुपमा युवाको पहिचान गरेको छ ।

नेपालको युवा नीति २०६६ मा युवाको परिभाषा देहाय बमोजिम गरिएको छ ।

१) युवा : भन्नाले १६ देखी ४० बर्ष उमेह समुहका महिला, पुरुष तथा तेस्रो लिङ्गीलाई जनाउनेछ ।
२) प्राथमिकताको समुह: भन्नाले महिला, आदिवासी जनजाती, दलित, मधेशी तथा पिछडिएको क्षेत्रमा रहको युवालाई जनाउनेछ ।
३) बिशेष प्राथमिकता समुह: भन्नाले द्वण्द्व पिडित, जोखिममा परेका युवा, अपाङ्गता भएका युवा र सीमान्तकृत अल्पसंख्यक समुदायका युवालाई जनाउनेछ ।
४) द्वण्द्वपीडित युवा: भन्नाले २०५२ सालदेखी २०६३ मंसिर ५ गतेसम्म नेपालमा भएको सशस्त्र द्वण्द्व र पछिल्ला समयका द्वण्द्वमा परी मृत्यु भएका पीडित परिवारका अङ्गभङ्ग बनाइएका तथा विस्थापित भएका यूवाहरुलाई जनाउनेछ ।
५) जोखिममा रहेका युवा: भन्नाले एच.आइ.भी. (एड्स) संक्रमित, बेचबिखनमा परेका, लागु औषधको प्रयोगकर्ता, यौन व्यवसायमा संलग्न, सडकमा रहेका, मुक्त कमैयाका परिवारका युवाहरुलाई जनाउछ ।
६) अपाङ्गता भएका युवा: भन्नाले सबै प्रकारका शारिरीक तथा मानसिक अपाङ्गता भएका युवाहरुलाई जनाउछ ।
७) सीमान्तकृत अल्पसंख्यक समुदायका युवा: भन्नाले भौगालिक विकटता, जातीय, भाषिक, सांस्कृतिक, क्षेत्रीय, बर्गीय, तथा लैङ्गिक आधारमा राज्य र गैरराज्यका सेवा सुविधाबाट बन्चित, सीमान्तकृत तथा राष्ट्रिय विकासको मुल प्रवाहमा आउन नसकेका अन्य युवाहरुलाई जनाउछ ।

नेपालको राष्ट्रिय युवा नीति अनुुसार युवा भनेको १६ बर्ष माथि ४० बर्ष मनिका सम्पुर्ण नागरीक हुन् । यसका साथै विश्वका कम्युनिष्ट राजनीतिज्ञ दार्शनिक कार्ल माक्र्सले युवाको बारेमा दिएको परिभाषा अनुसार –‘युवा भनेको त्यो हो जसलाई उमेरले छेक्दैन त उसको विचार जुझारु र युवामैत्री हुनुपर्दछ ।’ यसैगरी समाजवादी दार्शनिक तथा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको अनुसार –‘युवा भनेको उमेर भन्दा पनि शारिरीक रुपमा तन्दुरुस्त, मानसिक रुपमा स्फुर्त र सामाजिक रुपमा स्वास्थ्य, बैचारिक रुपमा स्पष्ट भएका व्यक्तिलाई जनाउछ ।’ यसरी हामीले दार्शनिकहरुका कुरालाई अनुसरण गर्ने हो भने पनि युवा भनेको यस्तो व्यक्ति हो जसले देशको लागि गर्नु पर्ने हरेक कामको र हरेक परिस्थितिको नेतृत्व लिन सक्छ ।

युवाको महत्व:
यसरी नेपाल लगायत विश्वका युवाहरुको अवस्था हेर्दा युवाहरुलाई नीति निर्माण तहमा सहभागितको हिसाबले कम देखिन्छ । माथि उल्लेख गरिएको विभिन्न देशको राष्ट्र प्रमुखहरुको विवरणले पनि विश्वमा युवाहरुको अवस्था कस्तो रहेको छ भन्ने कुरा थाहा हुन्छ । ‘युवा नै देशको अग्रगामी विकासका मूल आधार हुन र युवाको मेहनतले नै देश बन्छ ।’ भनेर विभिन्न युवा समुह तथा सञ्जालहरुले भनिरहदा पनि युवाको सहभागिता भने निकै कमजोर देखिन्छ । तर पनि विश्वका विभिन्न देशको युवा सम्बन्धी आन्दोलनले युवाको महत्वलाई प्रष्ट परेको छ । विश्वका युवाहरुको सञ्जालको कुरा गर्दा Global Youth Action Network  अग्रपंतीमा आउने गर्दछ । जसले युवाहरुको प्राविधिकि क्षमताको बारेमा विश्वव्यापीकरण गराउने काम गर्दछ । यसैगरी युरोपमा रहेको ONE  Youth  Ambassador संस्थाले युवाहरुको नेतृत्व विकासको क्षेत्रमा काम गर्ने गरेको छ । त्यस्तै विश्वव्यापी सञ्जालको रुपमा रहेको Scouts ले विश्वको युवाहरुको लैङ्गिक विकास, वैचारिक विकास, सामाजिक तथा मनोभावनात्मक विकासको क्षेत्रमा काम गर्ने गर्दछ । यसरी विश्वका धेरै देशले युवाहरुको विकासको लागि युवाहरुको सामाजिक संञ्जाल विकास गरी युवाहरुको नेतृत्व विकास गरिरहेको छ ।

युवाको महत्वको बारेमा कुरा गर्दा संयुक्त राष्ट्र संघको १९९९ को महासभाले प्रत्येक बर्षको अगष्ट १२ तारिकको दिन अन्तर्राष्ट्रिय युुवा दिवस मनाउने निर्णग गरेको थियो । अहिले हामी २२ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाईरहदा पनि युवाहरुलाई आन्दोलनको पहरेदारको रुपमा मात्र लिएको देखिन्छ । यद्यपी यस दिवसलाई युवा आन्दोलनको सफलतासँग जोडिएको छ । यसलाई मध्यनजर गर्दै नेपालको राजनीतिक दलहरुले युवा शक्तिलाई महत्वपुर्ण शक्तिको रुपमा लिएको देखिन्छ । फलस्वरुप स्थानीय तहका निर्वाचको नतिजा अनुसार ३९.६४ प्रतिशत युवाहरुको सहभागिता रहेको छ । यसैगरी प्रदेश तहमा २३.६३ प्रतिशत, राष्ट्रिय सभामा ६.७७ प्रतिशत र संघीय संसदमा १३.०९ प्रतिशत रहेको छ । यसरी नेपालको नीति निर्माण तहमा यवाहरुको सहभागिता हेर्दा अझै प्रभावकारी रुपमा युवाहरुको सहभागिता वृद्धि गर्न आवस्यक छ ।

उत्पादन क्षेत्रमा युवाको भुमिका:
आजको विश्व भनेको विश्वव्यापिकरणका युग हो । एक ठाउँमा उत्पादन भएको सामान विश्वका अर्को कुनाका व्यक्तिले उपयोग गर्न सक्छन । त्यसैले हामीले आजको यस विश्वव्यापिकरणको युगमा युवाको भूमिकालाई सही ढंगले सदुपयोग गर्नु पर्दछ । आजको प्राविधिक युगलाई युवामैत्री बनाइ युवा शक्तिलाई सदुपयोग गर्न सकेको खण्डमा उत्पादनमा बृद्धि भई राष्ट्रिय आम्दानीमासमेत वृद्धि हुने देखिन्छ ।
आज हामीले आफ्नो देशमा उत्पादन हुने बस्तुलाई विश्वका विभिन्न देशहरुमा पु¥याउनु पर्ने आवश्यकता जरुरी रहेको छ । त्यसको लागि उत्पादनको क्षेत्रमा युवाहरुको परिचालन गर्नु पर्दछ । उनीहरुको भएको प्राविधिक ज्ञान, सामाजिक ज्ञान, र मनोवैज्ञानिक ज्ञानलाई उत्पादनको क्षेत्रमा लगाउने हो भने मुलुकको आर्थिक विकासले फड्को मार्ने निश्चित छ । युवाको स्फुर्ति, काम गर्न सक्ने क्षमता अधिक हुने साथै विभिन्न अर्थशास्त्रीहरुले मानिसको १६ बर्ष देखी ५९ बर्षसम्मका उमेरका मानिसलाई आर्थिक मानव भनि उल्लेख गरिएको साथै त्यसमा पनि २० देखी ४५ सम्मका व्यक्तिहरुलाई उच्च आर्थिक मानव भनि उल्लेख गरिएको हुनाले उत्पादन क्षेत्रमा युवाको भूमिका महत्वपुर्ण रहेको छ ।

राजनीतिक तथा प्रशासनिक क्षेत्रमा युवाको भुमिका:
राजनीतिको कुरा गर्दा विश्वका हरेक राजनीतिक दलहरुले युवाहरुको छुट्टै संगठन निर्माण गर्ने गरेको छ । जुन संगठनले उक्त राजनीतिक दलहरुको विचारधारालाई अनुसरण गरोस् । नेपालको राजनीतिक दलहको युवा संगठनका कुरा गर्ने हो । नेपाली कांग्रेसले युवाहरुको समुहलाई जोड्नका लागि तरुण दल र नेपाल विद्यार्थी संघ गठन गरी परिचालन गरेको छ । यसैगरी नेकपा एमालेले युवा संघ, युथ फोर्स तथा अनेरास्ववियुको नाममा युवा विद्यार्थीहरुलाइ आवद्ध गराउने गरेको छ । यसैगरी नेकपा माओवादी केन्द्रले योङ्ग कम्युनिष्ट लिग र अनेरास्ववियु क्रान्तिकारीको नाममा युवा तथा विद्यार्थीहरुलाई सामेल गराउदै आएको छ । यो हिसाबले नेपालका अन्य राजनीतिक दलहरुले युवाहरुलाई समेट्नका लागि विभिन्न नाममा युवाहरुकोलाई राजनीतिमा सहभागि गराउदै आएको छ ।

बास्तवमा भन्ने हो भने राजनीतिक दलहरुको मेरुदण्ड भनेको नै यवाहरु हो । हरेक राजनीतिक दलहरुमा युवाको सहभागिता उल्लेख्य मात्रमा रहेको पाउछौं । हरेक व्यक्ति वालक, युवा, वृद्ध हुने भएको हुदा युवाहरुको पक्षमा नीति निर्माण गरी देशलाई युवामैत्री बनाउनका लागि राजनीतिक तथा प्रशासनिक क्षेत्रमा युवाहरुको भुमिका उल्लेख्य मात्रामा रहेको छ । शेर बहादुर देउवा पहिलो पटक प्रधानमन्त्री हुदा युवा मन्त्रालयको स्थापना भएको थियो । यसलाई थप प्रभावकारी बनाउनका लागि राजनितिक तथा प्रशासनिक क्षेत्रमा युवाहरुको भूमिका थप बढाउन अपरिहार्य रहेको छ ।

सामाजिक क्षेत्रमा युवाको भूमिका:
समाजको विकास कसरी अगाडी बढिरहेको छ भन्ने कुरा त्यस ठाउँको युवाको अवस्थाबाट थाहा हुन्छ । वास्तवमा भन्ने हो भने युवाहरुले ने समाज रुपान्तरणको काम गर्ने हुन । युवाहरुले नै समाजलाई कस्तो बनाउने अनि सामाजिक तथा सांस्कृतिक क्षेत्रलाई सभ्य कसरी बनाउने सोको निर्भर युवामा नै हुने गर्दछ । जसरी एउटा विरुवालाई राम्ररी मलजल गरिएको खण्डमा त्यस विरुवाले राम्रो फल दिने गर्दछ । त्यसरी नै युवाहरुले समाजको विकासको लागि आफुलाई अग्रपंतिमा उभ्याउनु पर्दछ ।

युवा विनाको समाज हँुदैन । समाजमा युवा, वृद्ध, बालक सबै हुने भएको भएता पनि समाजलाई कसरी रुपान्तरण गर्ने सोको लागि प्रभावकारी भुमिका खेल्न सक्ने भने युवा शक्ति नै हो । समाजका रहेको सामाजिक विकृति, कू–सस्कार, अन्धविश्वास, कुप्रथा तथा कयौ खालका प्रथाहरु छन जसले सामाजिक विचलन ल्याउने गर्दछ । त्यस खालका संस्कार, कुप्रथाहरुको नियन्त्रण र नियमन गर्नका लागि युवाहरुको महत्वपुर्ण भूमिका हुने गर्दछ ।

अन्त्यमा:
नेपालको कानुनले युवा भनेको १६ देखी ४० बर्ष सम्मका महिला, पुरुष तथा तेस्रोलिङ्गीलाई मान्छ । यसरी युवाको क्षमता विकास गर्नका लागि आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषदले बक्तृत्वकला आयोजना गरेको छ । साथै विभिन्न संघ संस्थाहरुले युवामैत्री कार्यक्रमको आयोजना गरेको छ । यसमा सरकारले पनि युवा दिवसलाई विशेष दिवसको रुपमा मनाउन आव्हान गरेको छ ।

आजको युगमा युवालाई प्रविधि मैत्री बनाई युवाको शक्तिलाई सशक्त र प्रकारकारी बनाउन सबैले पहल गर्न आवश्यक रहेको छ । युवा भनेको एक अजेय शक्ति हो । जुन शक्तिको सामु विश्वका तानाशाहहरुले घुँडा टेकेका छन् । त्यसैले युवामैत्री प्रशासन, र युवामैत्री राजनीति, युवामैत्री समाज, शुसासन, पारदर्शिता, इमान्दारिता, र जवाफदेहिता मैत्री युवाको विकास गरी राष्ट्र निर्माण लाग्ने वेला भएको छ । आफ्नो देशलाई विदेशिएको देशको रुपमा विकास गर्न भन्दा आफ्नै देशको विकास र समद्धिको लागि पसिना बगाउनु राम्रो हुन्छ । नेपालको कुल जनसंख्याको लगभग ४० प्रतिशत भन्दा बढी व्यक्तिहरुले विदेशी भुमिका गएर काम गर्ने गरको छ । यसले नेपाललाई आत्मनिर्भर बनाउने भन्दा पनि परनिर्भरताको विकास गर्दे जान्छ । सरकारको तथ्यांक अनुसार ५० लाखभन्दा बढी युवाहरु विभिन्न देशमा श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेशिएका छन् । यसरी देशलाई विदेशिएको देश बनाउनु भन्दा आफ्नै देशमा गरिखाने अवस्थाको विकास गर्न सरकार, राजनीतिक दल तथा सामाजिक संघ संस्स्थाहरुले आफ्नो ठाउँबाट लागि पर्नु आजको मूल आवश्यकता हो ।

लेखक भोजपुरको साल्पासिलिछो गाउँपालिकाका योजना शाखा प्रमुखसमेत हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!