- रबिन कटेल/संगालोखबर
विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्र । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा विद्युत प्राधिकरणको लापरबाहीका कारण विद्युत अनियमित हुँदा उपभोक्ता मारमा परेका छन् । वारम्वार बत्ती जाने/आउने गर्दा उपभोक्ता हैरान मात्र भएका छैनन् विद्युतको माध्यमबाट सञ्चालन हुने व्यवसाय नै चौपट हुने अवस्था सृजना भएको छ ।

विद्युत प्राधिकरणले लोडसेडिङ नरहेको दावी गर्दै आएको छ । तर, बत्ती भने वारम्वार गइरहन्छ । दिनमै दर्जनौं पटक बत्ती जाने/आउने गर्छ । जसका कारण उपभोक्ताहरू आजित भएका छन् । यता, विद्युतकै माध्यमबाट सञ्चालन हुने व्यवसायहरु त झन सङ्कटमा परेका छन् । विद्युत अनियमित हुँदा व्यवसाय सञ्चालनमा समस्या मात्र भएको छैन वारम्वार बत्ती जाने/आउने गर्दा विद्युतीय उपकरणहरू बिग्रिएर व्यवसायीहरू हैरान भएका छन् ।

Advertisement

बत्ती धेरै जाने/आउने गर्दा विद्युतीय उपकरणहरू बिग्रिएर मर्मत खर्च धान्न समस्या भइरहेको धनकुटा–७ स्थित दिव्यज्योति छापाखानाका सञ्चालक दिपेन्द्र काफ्लेले बताए । ‘बत्ती झ्यापझ्याप गइरहन्छ, यस्तो हुँदा मेसिनहरू बिग्रिएर मर्मत खर्च धान्नै गाह्रो परिरहेको छ,’ संगालोखबरसँग उनले भने, ‘लोडसेडिङ नै गर्ने हो भने निश्चित समय तोकेर बत्ती काट्नु, तर वारम्वार बत्ती जाँने–आउँने गर्दा समस्या भइरहेको छ ।’ यता, धनकुटा–७ स्थित मानव मोवाइल पसलका सञ्चालक रमेश पौडेल र टेलर्श व्यावसायी शिव सुन्दासले पनि बत्ती बारम्वार गइरहदा व्यावसाय सञ्चालनमा समस्या भएको गुनासो गरे । उनीहरु मात्र हैन विद्युत अनियमित हुँदा जिल्लाबासीहरु आजित बनिसकेका छन् ।

बत्ती अनियमित हुँदा आजित बनेका धनकुटाबासीले अहिले विद्युत प्राधिकरणमाथि आक्रोश पोखिरहेका छन् । लापरबाही बढ्दै गएपछि विद्युत प्राधिकरणमाथिको उपभोक्ताको आक्रोश अहिले सामाजिक सञ्जालमा छचल्किन थालेको छ । गत बर्ष पनि यस्तै समस्याका कारण हैरान बनेका धनकुटा बजारबासीले जुलुशसहित प्राधिकरण पुगेर ध्यानाकर्षण पत्र बुझाएका थिए । तर, अहिले पनि समस्या उस्तै छ ।

यता, विद्युत प्राधिकरण भने जिर्ण अवस्थाको विद्युतीय संरचना, मौसम र प्राकृतिक प्रकोपलाई दोस देखाएर पन्सिन खोजिरहेको छ । धनकुटामा विद्युतको पुरानो संरचना भएकाले र हावाहुरी, पानी लगायत प्रतिकुल मौसमका कारण विद्युत नियमित दिन नसकिएको विद्युत प्राधिकरणको धनकुटा वितरण केन्द्रका प्रमुख दिपक सापकोटा बताउँछन् । धनकुटामा विद्युत लाइनका १० हजार भन्दा बढी काठे पोल बर्षौ अघिदेखि जिर्ण अवस्थामा छन् । जुन वारम्वार लड्ने, भाँचिने भइरहेका छन् । जसका कारण पनि विद्युत अनियमित भइरहेको प्राधिकरणकै प्रमुख सापकोटा स्वीकार गर्छन् ।

तर, त्यस्ता संरचना चाडो मर्मत गर्न प्राधिकरणले चासो देखाइरहेको छैन । ठुलो संख्यामा पोल फेर्नुपर्ने अवस्था भएकाले जिल्लाबाट मात्र सम्भव नहुँने प्राधिकरण प्रमुख सापकोटा बताउँछन् । उनी भन्छन्, ‘यो हामीले यहाँ जिल्लाले मात्र गर्न सक्ने अवस्था छैन, यसका लागि प्राधिकरणको केन्द्रले सहयोग गर्नुपर्छ, त्यसको लागि सबैले पहल गर्नु आवश्यक छ ।’

जिर्ण अवस्थामा पुगेका पोल मर्मत नगरिदा विद्युत अनियमित मात्र भइरहेको छैन, यसले दुर्घटना पनि बढाइरहेको छ । जोखिमपूर्ण अवस्थामा पुगेका पोललाई वेलैमा फेर्नुको सट्टा लडेर दुर्घटना निम्तिएपछि मात्र फेरिदै आएको छ । यही कारण करेन्ट लागेर धनकुटामा धेरैले ज्यान गुमाइसकेका छन् । यो समस्याको दिगो समाधानका लागि जिल्लाबासीले माग गर्दै आएका छन् ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!