सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । नेपाली काँग्रेस निकट नेपाल तरुण दलले धनकुटाका प्रमुख जिल्ला अधिकारीमार्फत बिहिबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । पाख्रीवास नगरसभा तोडफोड घटनाका बिषयमा १५ जनाविरुद्ध दर्ता गरिएको मुद्दा फिर्ता हुनुपर्ने र गिरफ्तारी दिएका वडाध्यक्षलाई रिहाई गरिनुपर्ने माग गर्दै तरुण दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

Advertisement

काँग्रेस पार्टी कार्यालयबाट बिरोध जुलुशसहित जिल्ला प्रशासन कार्यालय पुगेका तरुण दलका नेता, कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्तमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएका हुन् । बजारमा जुलुश प्रदर्शन गर्दै उनीहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि करिब आधा घण्टा चर्को नाराबाजी गरे ।

राजनीतिक पूर्वाग्रहका आधारमा बजेटको सिलिङ तोकिएको भन्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले असार १० गते पाख्रीवास नगरपालिकाको आठौं नगरसभामा हुलदंगा र तोडफोड गरेका थिए । घटनामा संलग्न भएको भन्दै पाख्रीवास नगरपालिकाको तर्फबाट १५ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिइएको छ । प्रहरीमा उजुरी परेपछि पाख्रीवास–४ का वडाध्यक्ष सोवित निरौलाले गत बिहिबार प्रहरी समक्ष गिरफ्तारी दिएका छन् । वाँकी १४ जना फरार छन् ।

उनीहरु विरुद्ध दर्ता भएको मुद्दा फिर्ता हुनुपर्ने र गिरफ्तारी दिएका वडाध्यक्ष निरौलालाई विना सर्त रिहाई गर्नुपर्ने माग गर्दै चार दल सम्मिलित संयुक्त लोकतान्त्रिक गठबन्धनले केही दिनयता निरन्तर आन्दोलन गर्दै आएको छ । यता, नेकपा एमालेले भने तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउँन माग गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया