सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । नेकपा एमालेको तर्फबाट पाख्रीवास नगरपालिका वडा नं.४ को वडाध्यक्षमा निर्वाचित सोवित निरौलालाई नगर सभा तोडफोडको बिषयलाई लिएर एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । एमाले पाख्रीवास नगर कमिटीले शनिवार पाख्रीवासमा पत्रकार सम्मेलन गरेर नगर कमिटी सदस्यसमेत रहेका वडाध्यक्ष निरौलालाई कारबाही गरिएको जानकारी दिएको हो ।

Advertisement

पत्रकार सम्मेलनमा एमाले पाख्रीवास नगर कमिटी अध्यक्ष शान्तिराम गौतमले वडाध्यक्ष निरौलालाई कारबाही गरिएको जानकारी दिदै उनको वडाध्यक्ष पद खारेजीको प्रकृया थालिएको बताए । ‘एमालेबाट निर्वाचत भएको वडाध्यक्षले अरु पार्टीसँग मिलेर आफ्नै स्थानीय सरकारविरुद्ध हुलदंगा र तोडफोड गर्नु पार्टीको अनुसाशन विपरित हो,’ नगर कमिटी अध्यक्ष गौतमले भने, ‘पार्टी अनुशासन विपरित काम गरेकाले पार्टीले उहाँलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । अब हामी उहाँको पद खारेजीका लागि प्रकृया अघि बढाउँदैछौं ।’

वडाध्यक्ष निरौलालाई पार्टीबाट निष्काशन गरेपछि एमालेले अब उनको पद खारेजीका लागि निर्वाचन आयोगमा पनि जानकारी गराउँने भएको छ । वडाध्यक्ष निरौलाकै अगुवाईमा अन्य राजनीतिक दलहरुसँग मिलेर नगरसभा तोडफोड गरिएको एमालेको ठहर छ ।

गत बिहिबार आयोजित पाख्रीवास नगरपालिकाको आठौं नगरसभामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टी सम्बद्ध नेता कार्यकर्ताले हुलदंगा र तोडफोड गरेका थिए । तोडफोडबाट नगरपालिका भवनको आधा दर्जन झ्यालका सिसा फुटेका छन् भने दर्जनौं कुर्सीमा क्षति पुगेको छ ।

एमालेबाट वडाध्यक्षमा निर्वाचित निरौला पार्टी केन्द्रमा विवाद चर्किएपछि अहिले एमाले नेता माधव नेपाल पक्षमा उभिएका छन् । तर, पाख्रीवासका अन्य जनप्रतिनिधि भने केपी ओली पक्षमा छन् । राजनीतिक पूर्वाग्रह राखी बजेटको सिलिङ्ग तोक्ने क्रममा विभेद गरिएको भन्दै वडाध्यक्ष निरौलाकै अगुवाइमा विरोध भइरहेको बेला हुलदंगा र तोडफोड भएको थियो । विरोध जनाउने क्रममा एक वडासदस्यले स्थानीय युवामाथि हात उठाएकाले भीड अनियन्त्रित भएर घटना भएको वडाध्यक्ष निरौला बताउँछन् । तर, आरोपित वडासदस्यले भने यो कुरा स्वीकार गरेका छैनन् । उनले आफुले कसैमाथि पनि हात नउठाएको दावी गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!