सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । पाख्रीवास नगरपालिकाको नगरसभामा बिहिबार हुलदंगा र तोडफोड गर्ने चार दलले जनप्रतिनिधिकै कारण घटना निम्तिएको आरोप लगाएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टीले शुक्रबार पाख्रीवासमा पत्रकार सम्मेलन गरेर हुलदंगा र तोडफोड घटना जनप्रतिनिधिकै कारण भएको आरोप लगाएका हुन् ।

Advertisement

शान्तिपूर्ण विरोधमा उत्रिएका वेला पाख्रीवास वडा नं.–३ का वडा सदस्य सरोज राईले पाख्रीवास नगरपालिका–४ का रवि कुमार पौडेललाई हातपात गरेपछि घटना निम्तिएको उनीहरुको आरोप छ । पत्रकार सम्मेलनमा वोल्दै पाख्रीवास वडा नं.–४ का वडाअध्यक्ष एवं एमाले माधव पक्षका स्थानीय नेता सोवित निरौलाले शान्तिपूर्ण रुपमा विरोध जनाउँन पुगेका युवामाथि वडा सदस्यले नै हातपात गरेपछि घटनाले उग्ररुप लिएको आरोप लगाए । उनले विकास र समृद्धिको निम्ति प्रस्तुत हुँने बजेट टोल, वडा र नागरिकसँग छलफल नगरी गैरकानूनी हिसावले वडा परिषद बसेर अवैधानिक रुपमा बजेट ल्याउँन खोजिएकाले त्यसलाई प्रकृयागत रुपमा ल्याई विधि र प्रकृया पालना गर्न माग गरेको भएपनि सुनुवाई नभएको उल्लेख गरे ।

माग सुनुवाई नभएपछि संयुक्त राजनीतिक दल र स्थानीय नागरिकहरु शान्तिपूर्ण रुपमा नगरपालिकामा प्रवेश गरी पुनः माग संवोधन गर्न आग्रह गर्दा नगर प्रमुखले वेवास्ता गरेर अघि बढेको र सोही क्रममा वडा सदस्यले स्थानीय युवालाई हातपात गरेपछि घटना भएको उनको भनाई छ ।

तोडफोड प्रति क्षमायाचना
यसैबीच, चार वटै दलले संयुक्त विज्ञप्ति जारी गरेर तोडफोड गर्नुपर्ने स्थिती सृजना भएको प्रति क्षमायाचनासमेत गरेका छन् । नेपाली काँग्रेसका नगर सभापति प्रेम भण्डारी, नेकपा माओवादी केन्द्रका नगर सचिव मुक्ति बजगाईँ, नेकपा एमाले माधव समूहका अध्यक्ष सोवित निरौला र जनता समाजवादीका प्रतिनिधि टेकबहादुर भट्टराईले संयुक्त विज्ञप्ति जारी गरेर माहोल अनियन्त्रित भई भौतिक संरचनामा क्षति पुगेको प्रति क्षमा याचना गरेका हुन् ।

मैले छोएको पनि छैन: वडा सदस्य राई
स्थानीय युवालाई कुटपिट गरेको आरोप लगाइएका पाख्रीवास वडा नं.–३ का वडा सदस्य सरोज राईले आफुले कसैमाथि पनि हात नउठाएको दावी गरेका छन् । अन्य राजनीतिक दलले गुण्डागर्दी शैलीमा तोडफोड गरेपछि त्यसलाई ढाकछोप गर्न आफुमाथि गलत आरोप लगाएर मान हानी गर्न खोजिएको उनको भनाई छ । ‘नगर परिषद चलिरहदा उहाँहरु दादागिरी शैलीमा डाङडाङ्गडुङडुङ्ग गर्दै भित्र प्रवेश गर्नुभयो, सवै तोडफोड गर्नुभयो तरपनि, हामी जनप्रतिनिधिहरु संयमित भयौं,’ वडासदस्य राईले भने, ‘मैले कसैलाई छोएको पनि छैन, हातपात गर्ने त परैको कुरा हो, मलाई आरोप लगाएर उहाँहरु चोखिन मात्र खोज्नु भएको हो ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!