- संगालोखबर सम्वाददाता
धनकुटा जिल्ला अदालत । फाइल तस्वीर : संगालोखबर

धनकुटा । अपाङ्गता भएकी बृद्धामाथि बलात्कार गरेको अभियोगमा प्रहरीले धनकुटाको महालक्ष्मी नगरपालिका–६ लेगुवाका लोकबहादुर कार्कीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । लेगुवाकी ६७ बर्षीया अपाङ्गता भएकी बृद्धामाथि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले शुक्रबार जिल्ला अदालतमा ६१ बर्षीया कार्कीबिरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेको हो ।

कार्कीविरुद्ध मुद्दा दर्ता गरी अदालतबाट १० दिनको म्याद थप गरेर घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले बताए । ‘कार्कीले मादकपदार्थ सेवन गरी बृद्धामाथि यौन दुव्यर्वहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।’ एसपी अधिकारीले संगालोखबरसँग भने, ‘जबरजस्ती करणी कसुर अन्तरर्गतको घटना देखिएकाले अदालतमा मुद्दा दर्ता गरेर थप अनुसन्धान थालेका छौं ।’

घटना मंगलबार राती करिब ९ बजेको हो । भुईमा गाईबस्तु बाँध्ने र तलामाथि मान्छे सुत्ने गरेको गोठमा राती एक्लै सुतिरहेका बेला कार्कीले आफुमाथि जबरजस्तीकरणी गरेको पीडित बृद्धाले बताएकी छन् । बोलीसमेत नआउँने उनी हातको इसाराले सांकेतिक भाषाबाट बोल्ने गर्छिन् । वुधबार बिहान उनकी भाई बुहारी गोठमा जाँदा रोइरहेको देखेपछि सोधपुछ गर्ने क्रममा घटनाको रहस्य खुलेको हो । आफुमाथि लोकबहादुरले जबरजस्तीकरणी गरेको बृद्धाले सांकेतिक भाषाबाट बताएकी हुन् ।

पीडित पक्षले प्रहरीमा जानकारी गराएपछि लेगुवा प्रहरीले बुधबार दिउँसो करिब २ बजे कार्कीलाई पक्राउ गरेको हो । पक्राउ गरेको २४ घण्टाभित्र अभियुक्तलाई अदालतमा पेश गर्नुपर्ने कानुनी प्रावधान छ । तर, आरोपित कार्कीलाई बिहिबार बिहानसम्म लेगुवा प्रहरी चौकीमै राखिएको थियो । अभियुक्तलाई जिल्ला नपठाई घटना गुपचुप गराउँन पीडक पक्ष र स्थानीय अगुवाहरु लागिपरेको पीडित पक्षले गुनासो गरेपछि सो बिषयमा संगालोखबरले बिहिबार बिहान समाचार सार्वजनिक गरेको थियो ।

लेगुवा प्रहरी चौकीले आरोपितलाई तत्काल जिल्ला पठाउँन गाडी खोजिसकेको थियो । तर, स्थानीय अगुवाहरुले घटना मिलाउँन समय मागेको भन्दै प्रहरीले जिल्ला पठाउँन ढिलाई गरेको हो । लेगुवा प्रहरी चौकीका प्रमुख लिला श्रेष्ठले पनि यो कुरा स्वीकारेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी अधिकारीले भने आरोपितलाई तत्काल जिल्ला ल्याएर कारबाही प्रकृया थाल्ने बताएका थिए । लगत्तै प्रहरीले आरोपित कार्कीलाई जिल्ला झिकाएको हो । पीडित पक्षले पनि बिहिबार जिल्ला प्रहरीमा किटानी जाहेरी दिएका छन् । त्यसपछि प्रहरीले अदालतमा मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाएको हो ।

 

यसअघि प्रकाशित समाचार…

धनकुटामा अपाङ्गता भएकी बृद्धामाथि बलात्कार, पैसा दिएर घटना गुपचुप गराउँन दवाव

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!