संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–६ लेगुवामा अपाङ्गता भएकी बृद्धा बलात्कृत भएकी छन् । अपाङ्गता भएकी ६७ बर्षीया बृद्धामाथि स्थानीय एक व्यक्तिले जबरजस्ती करणी गरेको आरोप छ । पैसा दिएर घटना गुपचुप गराउँन स्थानीय अगुवा र पीडक पक्षले दवाव दिएको पीडितका आफन्तले गुनासो गरेका छन् ।

Advertisement

बलात्कारको आरोपमा प्रहरी चौकी लेगुवाले बाँसपानीका ६१ बर्षीय लोकबहादुर कार्कीलाई वुधवार नियन्त्रणमा लिएको छ । उनी दुई छोरा र एक छोरीका वुवा हुन् । हजुरबासमेत भइसकेका लोकबहादुरको घरमा श्रीमति छन् भने अपाङ्गता भएकी बृद्धा अविवाहित हुन् । घटना मंगलबार राती करिब ९ बजेको हो । भुईमा गाईबस्तु बाँध्ने र तलामाथि मान्छे सुत्ने गरेको गोठमा राती एक्लै सुतिरहेका बेला कार्कीले आफुमाथि जबरजस्तीकरणी गरेको पीडित बृद्धाले बताएकी छन् । उनको बोली आउँदैन । हातको इसाराले सांकेतिक भाषाबाट बोल्ने गर्छिन् । परिवार स्रोतका अनुसार वुधबार बिहान उनकी भाई बुहारी गोठमा जाँदा बृद्धा रोइरहेको देखेपछि सोधपुछ गर्ने क्रममा घटनाको रहस्य खुलेको हो ।

गाउँका मान्छे भेला भएर सोधपुछ गर्दा आफुमाथि लोकबहादुरले जबरजस्तीकरणी गरेको बृद्धाले सांकेतिक भाषाबाट बताएकी हुन् । पीडित बृद्धाका आफन्तका अनुसार उनको स्तनमा दाँतले टेकेको डामसमेत बसेको छ । पीडित पक्षले प्रहरीमा जानकारी गराएपछि लेगुवा प्रहरीले बुधबार दिउँसो करिब २ बजे कार्कीलाई पक्राउ गरेको हो । पक्राउ गरेको २४ घण्टाभित्र अभियुक्तलाई अदालतमा पेश गर्नुपर्ने कानुनी प्रावधान भएपनि आरोपित कार्कीलाई बिहिबार बिहानसम्म लेगुवा प्रहरी चौकीमै राखिएको छ ।
पक्राउ गरिएका व्यक्तिलाई जिल्ला पठाउँन रोकेर स्थानीय अगुवा र पीडक पक्षले गाउँमै घटना मिलाउँन दवाव दिएको पीडित महिलाका आफन्तले संगालोखबरलाई बताए । ‘दुई लाख पैसा दिने भनेर घटना गाउँमै गुपचुप गराउँन दवाव दिइरहेका छन्,’ उनले संगालोखबरसँग भने, ‘गल्ती गर्नेलाई कारबाही नगरी पहुँच र पैसाको आडमा मिलापत्र गराइयो भने भोलि कसका छोरीचेली सुरक्षित होलान ? पैसा तिरेपछि जे पनि गर्दा हुन्छ भन्ने छाप बस्छ । दोषीलाई कारबाही गर्नुपर्छ भनेर हामीले मिलापत्र गर्न नमानेका हौं ।’

यता, लेगुवा प्रहरी चौकीका प्रमुख लिला श्रेष्ठले आरोपितलाई जिल्ला पठाउँन गाडी खोजिसकेको भएपनि स्थानीय अगुवाहरुले घटना मिलाउँन समय मागेकाले जिल्ला पठाउँन ढिलाई भएको स्वीकार गरे । घटनाको विषयमा जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले आरोपितलाई तत्काल जिल्ला ल्याएर अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!