
धनकुटा । धनकुटाको हिलेमा तास खेलिरहेको अवस्थामा गएराती आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिलेका सिताराम श्रेष्ठको घरमा तास खेल्दै गरेको अवस्थामा राती करिब ८ बजे छापा हानेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हिलेका ५२ वर्षीय मोहन बहादुर वि.क., ४५ बर्षीय रमेश राई, ३८ वर्षीय सविन तामाङ, ४४ वर्षीय तेजबहादुर मगर र ५३ वर्षीय रमेश भण्डारी छन् ।
त्यस्तै, धनकुटा-२ का ३२ वर्षीय दिपेन्द्र मगर, धनकुटा-१० का ५० वर्षीय रमेश कार्की र महालक्ष्मी-८ का ३६ वर्षीय रामकाजी वि.क.लाई तासको खालबाट पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
तासको खालबाट १ लाख १४ हजार ५५० नगद बरामद भएको छ । त्यस्तै, ४ बुङ तास र ५, २०, ५० र ५०० लेखिएको गोटीहरु पनि फेला परेको छ । पक्राउ परेकाहरुविरुद्ध प्रहरीले कारवाही प्रकृया अघि बढाएको छ ।

संगालोखबर 



















