
विराटनगर । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार भारी वर्षाको जोखिम टरेको छ । ‘कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी क्षेत्रमा बादल लागेको छ भने कतिपय ठाउँमा पानी परेको अवस्था छ’, उनले संगालोखबरसँग भने, ‘त्यत्रो ठूलो पानी परेको अवस्था भने छैन ।’
पूर्वी क्षेत्रमा घाम लागिरहेको र अब पानी पर्ने सम्भावना नरहेको उनले जानकारी दिए । ‘भोलि बिहानसम्म पश्चिमी क्षेत्रमा अलिअलि प्रभाव परेपनि त्यसपछि मौसम सुधार हुने सम्भावना छ’, उनले थपे, ‘देशका पश्चिमी क्षेत्रमा आज अलिअलि हावाहुरी चल्न सक्छ ।’
पछिल्लो २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी प्रदेशको केही भू-भागमा धेरै नै पानी परेको थियो’, उनले भने, ‘मनसुनी प्रक्रिया विस्तारै कमजोर हुँदै गएकाले तत्कालका लागि त्यस्तो जोखिम देखिएको छैन । कतैकतै बाहेक ठूलो वर्षाको सम्भावना देखिएको छैन ।’

संगालोखबर 

















