धनकुटा । धनकुटामा बिहिबार ४७० जना बृद्धबृद्धाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लाका २७१ पुरुष र १९९ जना महिलाले कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका हुन् । धनकुटा नगरपालिकाका २१०, छथर जोरपाटीका ९२, महालक्ष्मीका ६२, पाख्रीवासका ४३, चौविसेका ३६, सहिदभूमिका १४ र साँगुरीगढीका १३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
जसमध्ये २८ जनाले भेरोसेल खोपको दोस्रो डोज लगाएका हुन् भने ४४२ जनाले पहिलो डोज खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले बताए । ‘धनकुटामा यसअघि कोभिसिल्ड खोप मात्र लगाइएको छ । भेरोसेल खोप पहिलो पटक लगाइएको हो । अन्तै भेरोसेलको पहिलो डोज लगाएका १८ जनाले दोस्रो डोज लगाउँनु भयो । वाँकी सबैले पहिलो डोज खोप लगाउँनु भएको हो,’ गुरागाईले भने ।
धनकुटा नगरपालिका क्षेत्रका लागि जिल्ला अस्पताल धनकुटा, पाख्रीवासको आधारभूत अस्पताल पाख्रीवास, महालक्ष्मीको प्राथमिक स्वास्थ्य केन्द्र जितपुर, छथर जोरपाटीको कोभिड अस्पताल छथर जोरपाटी, सहिदभूमिको आँखिसल्ला स्वास्थ्य चौकी, साँगुरीगढीको भेडेटार स्वास्थ्य चौकी र चौविसेको राजारानी स्वास्थ्य चौकीमा खोप केन्द्र तोकिएको छ । सात वटै खोप केन्द्रबाट ६२ देखि ६४ बर्षसम्मका बृद्धबृद्धालाई बिहिबार र शुक्रबार खोप लगाउँन आवहन गरिएको छ ।
सामाजिक विकास मन्त्रालयले धनकुटाका लागि २ हजार ४ सय डोज खोप पठाएको छ । दुई दिनमा सबै खोप लगाइसक्ने हिसावले बिहिबार र शुक्रबार खोप लगाउँने समय तोकिएको हो । तर, पहिलो दिन खोप लगाउँनेको संख्या सोचेअनरुप भएन । जसका कारण दुई दिनमा २४ सय डोज खोप लगाइसक्ने सम्भावना नदेखिएकाले खोप लगाउँने दिन लम्बिन सक्ने स्वास्थ्य कार्यालयको अनुमान छ ।
यसअघि भेरोसेल खोप काठमाडौं उपत्यकामा मात्र लगाइएको थियो । त्यसैले काठमाडौंमा भएका बेला पहिलो डोज लगाएकाहरुले यो खोपको दोस्रो डोज अहिले लगाउँन सक्छन् । काठमाडौंमा हुँदा पहिलो डोज भेरोसेल खोप लगाएका १८ जनाले बिहिबार धनकुटामा दोस्रो पटक लगाएर खोपको डोज पुरा गरेका हुन् । त्यो बाहेक अरुले पहिलो डोजको रुपमा भेरोसेल खोप लगाउँदैछन् ।
पहिले कोभिसिल्ड खोप लगाएकाहरुले भने अहिले यो खोप लगाउँन मिल्दैन । सामान्यतया एक महिनाभित्र सोही कम्पनीको दोस्रो डोज खोप लगाउँनु पर्छ । तर, कोभिसिल्ड खोप लगाउँनेहरुले तीन महिना वित्दासमेत दोस्रो डोज खोप लगाउँन पाएका छैनन् । भारतबाट आउँनुपर्ने कोभिसिल्ड खोप नआउँदा पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकाहरुमा अन्यौलता छाएको छ ।