- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ प्रदेशसभाको आठौं तथा बजेट अधिवेशनको पहिलो बैठकमा सोमबार विपक्षी दलका सांसदहरुले प्रदेश सरकारको चर्को आलोचना गरेका छन् । अधिवेशनको पहिलो बैठकमा बोल्ने बिपक्षी दलका सांसदहरुले प्रदेश सरकारप्रति आक्रोश पोखेका हुन् ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद एवं संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले नै सदनलाई लामो समय उपेक्षा गरेको भन्दै असन्तुष्टि जनाए । बजेटमा विनियोजन भएको रकमसमेत प्रदेश सरकारले उपलब्ध नगराएको भन्दै उनले काम गर्न नसकेको प्रति आफ्नो चुनावी क्षेत्रका जनतासँग सदनबाटै माफीसमेत मागे । जनप्रतिनिधिले राम्रोसँग काम गर्न नपाउँदा जनस्तरबाट आक्रोस बढेको प्रति उनले प्रदेश सरकारलाई सचेत गराए । ‘भोट माग्न आउला भनेर जनताहरुले कट्टी लिएर उभिएको फोटो सामाजिक सञ्जालहरुमा देखिन्छ । बहुमत प्राप्त सरकारको भूमिका के हो ? जनतामा किन यसरी वितिष्णा बढिरहेको छ ?,’ उनले प्रश्न गरे ।

माओवादी केन्द्रका सांसद इन्द्रबहादुर आङ्बोले माओवादी केन्द्र र एमाले साविककै अवस्थामा फर्किएर पनि बहुमतमै रहेको प्रदेश सरकारले आफ्नो अस्तित्व देखाउन नसकेको आरोप लगाए । प्रदेश सरकार प्रधानमन्त्री केपी शर्मा ओलीकै सिको गर्न थालेको टिप्पणी पनि गरे । उनले बजेट अधिवेशन छल्नका लागि सरकारले विभिन्न बहाना बनाएको र आफूहरुले नै ध्यानाकर्षणसहित माग गरेपछिमात्र अधिवेशन बोलाइएको बताए ।

जनता समाजवादी पार्टीका सांसद जयराम यादवले प्रदेश सरकारका कारण अहिले जनताको बीचमा जान पनि लाज लाग्ने अवस्था बनेको बताए । उनले निषेधाज्ञा लम्बिराख्दा पनि मजदूर वर्गलाई राहत उपलब्ध गराउँन नसकेको, कोरोना विरुद्धको खोपको व्यवस्था गर्न नसकेको, स्वास्थ्य पूर्वाधार बढाउने काम गर्न नसकेको भन्दै प्रदेश सरकारको आलोचना गरे । प्रदेश सरकारले जनताको रक्षा गर्न नसकेको दावी गर्दै उनले हामीले गर्न सकेनौ भनेर हात उठाउँन व्याङ्ग्यात्मक सुझाव दिए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्वाहाम्फेले विधि, कानुन र संविधान मिचेर संघीय सरकारले गरेजस्तै प्रदेश सरकारले पनि आफ्नो आयु जबर्जस्ती लम्ब्याउने प्रयास मात्र गरिरहेको आरोप लगाइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद इन्दिरा राईले ठुला राजनीतिक दलमा जनताको चाहना भन्दा कुर्सीमोह बढी देखिएको उल्लेख गरिन् ।

मुख्यमन्त्रीले गरे बचाउँ

बैठकमा बोल्दै मुख्यमन्त्री एवं सत्तारुण दल नेकपा एमाले संसदीय दलका नेता शेरधन राईले प्रतिपक्षीले लगाएको आरोपको बचाउँन गरे । उनले कोरोनाको महामारीका कारण सोचे अनरुप काम हुँन नसकेपनि धेरै काम भएको दावी गरे । कोरोना भइरस र राजनीतिक उथलपुथलका कारण समस्या सृजना भएको उनले बताए ।

उनले प्रदेश सरकारलाई निकै संकटपूर्ण अवस्थाबाट यो अवस्थामा ल्याइएको भन्दै अब सहज अवतरण भएकाले विकासले गति दिने दावी पनि गरे ।

भिडियो हेर्नुहोस्…

यो पनि: प्रदेश १ को नाम अब चाडै तोकिन्छ: मुख्यमन्त्री राई

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!