- सुमित्रा बराल

ओहो त्यो पेट दुखाई , अहिले पनि त्यो सम्झदा जिउ सिरिगं हुन्छ । पीडाले प्राण नै निस्केला जस्तो मेरो छटपटाहट अनि त्यसको केहि बेरमा बेहोसतुल्य भएको मेरो शरीर । रक्तचाप घटेर ८०/४० भएपछि रिगंटा र कमजोरीले एक साथ गाजेको मलाई । अनि त्यसमाथि हस्पिटल पुगेर गाइने ओपिडी, सर्जरी ओपिडी अनि मेडिकल ओपिडी चाहार्दै भिडियो एक्स–रे को कोठामा मात्र बिताएको दुई घण्टा । ओ माइ गड, त्यो दिन अर्थात २०७८ बैशाख ८ गतेको दिन । त्यो दिन म तेश्रो पल्ट बाचे ।

हो तेश्रो पल्ट, पहिलो पल्ट म बाचेको जन्मिनु भन्दा नै हो । आमा बुबाले मलाई जन्माउन चाहानु हुन्न थियो कारण थियो, म झुक्किएर आमाको गर्भमा आए । धन्न नै भन्नु पर्छ त्यो बेला अहिलेको जस्तो सजिलै गर्भ चेक गर्ने साधन उपलब्ध थिएनन्, न त छ्यापछ्याप्ती गर्भपतन केन्द्र नै थिए । त्यसैको कारण म जन्मन पाए, कान्छो दाजु भन्दा १० बर्षपछि पनि ।

अनि दोश्रो पल्ट चै कसरी बाचे मलाई थाहा छैन, जुन खवरले म बेहोस भए त्यसपछि होस आउदा थाहा भयो म बाचेछु । गत बर्ष असार २६ को दिन कसरी बाचे मलाई नै थाहा छैन । मेरो त मुटु नै फुट्यो भनेर सायद मैले ठानेको थिए । मुटु नै किन नफुटोस आफ्नै मुटु जत्तिकै प्यारो मान्छेको मृत्युको खबर जो थियो । कसैले पानी छम्किदा अनि कसैले खुट्टा माड्दाको अवस्थामा आफुलाई भेटेपछि लागेको थियो, अरे त्यस्तो अप्रिय खबर सुन्दा नि म, बाचे छु । हुन त अझ कति दुख पाउनु छ, यति चाडै कहाँ जान्थे होला र ।

अनि तेश्रो पटक म फेरी बाँचे, त्यो दिन जुन दिन मैले फेरि मेरो गर्भमा भर्खरै आएको सन्तानलाई बिदा गरे ।

मात्र करिब ६ हप्ताको सानो कागतिको डल्लो जस्तो मात्र । मात्र ६ हप्ताको थियो उ, उ छ भनेर आफुले पत्ता लगाएको मात्र ३ हप्ता भएको थियो, सायद भर्खरै मुटुको धड्कन बिकास भएको थियो, त्यो धड्कन आको कुरा पनि त्यही दिन थाहा भयो जुन दिन उसको अन्तिम दिन थियो । उसको अन्तिम दिन अनि मेरो तेश्रो पुनः जन्मको दिन ।

डाक्टरहरुले भिडियो एक्स–रे गर्न मात्र २ घण्टा बढि लगाको देखेर मेरो मन त आत्तेको त थियो नै, अझ त्यसमाथि रेडियोलोजी डिपार्टमेन्टका सम्पूर्ण डाक्टरहरु देख्दा खतराको आंकलन लगभग मैले गरिसकेकी थिए । तर खतरा त्यति सम्मको होला भन्ने हेक्का मलाई थिएन । भिडियो एक्स–रे गर्न मात्र ३ बटा मेसिनमा सार्दा–सार्दा अनि २ घण्टा सम्म भिडियो एक्स–रे को प्रोवले थिच्दा, मैले खास कहाँनिर दुखेको हो भन्ने बिर्सिसकेकी थिए । तबसम्म त मेरो पुरा पेट नै थिलथिलो भैसकेको थियो । कोहि भन्दै थिए त्यो पेटमा देखिएको लिजन हो, अनि कोहि भन्थे फाइब्रोइड हो अनि कोहि एम आर आई गर्न लाउने कि भन्दै थिए त कोहि एम आर आई गर्नेसम्मको समय नभएको बताउदै थिए । अन्योलका बिच एक डाक्टरले सुइ छिराएर पेटमा भएको चिज केहो हेर्छौ भन्नु भयो, अलिकता पीडा हुन्छ, सहनुस ल, मैले केहि बोल्न सक्ने अवस्था थिएन, बस मैले टाउकोले इशारा गरे हुन्छ । हुन त अगाडि नै टिभिएस गर्दा उहाँहरुले आंकलन गरिसक्नु भएको रैछ, की त्यो पाठेघर बाहिर बसेको बच्चा फुटेको हो । तर उहाँहरुको द्धिविधाको कारण थियो, पाठेघर भित्र नि बच्चा थियो । पेटमा सिरिन्जबाट केहि पर्दाथ निकालेपछि सायद उहाँहरु कन्र्फम हुनु भयो त्यसपछि सब काम एक मिलिकमा भयो । एकाएक डाक्टरहरुको भिड जम्मा भयो ।

सिस्टरले आएर औषधीको लिष्ट थमाउदै, बिहान गर्न दिएको जाँचको रिर्पोट माग्दै अनि रगत जम्मा गर्ने आग्रह गर्दा अनि कोहि पिसाब थैलि जोडने, कोहि पुनः रक्तचाप चेक गर्ने कार्यले मेरो होसले ठाँउ छोड्नै लागेको थियो । दिदीलाइ अपरेशन गर्ने कुरा भनम् भनेर फोन त गरे तर बोल्ने आट नै आएन । एकछिन पछि अपरेसन थिएटर लानु अगाडि दिइएको औषधीले हो या अपरेसन गर्न लादैछन भन्ने डरले हो अलि पीडा कम हुदै गए जस्तो भएपछि मात्र मलाई बिहान आफूसँगै आएकी आफ्नी ४ बर्षे छोरी अनि आमा, बुबा र बुढोको याद आयो । हुन त सबैजना अगिदेखि नै मेरै बरिपरि हुनुहुन्थ्यो । यस्तै साँझ ५: ३० तिर मलाई अपरेसन थिएटर लगिएको थियो । होस आउदा म पोष्ट अपरेटिभ बार्डमा थिए ।

अपरेसन सफलतापूर्वक सम्पन्न भएको थियो, मैले पीडाबाट त मुक्ती पाएकी थिए तर मलाई भनिएको थिएन कि मेरो के–के को अपरेशन गरियो । सायद मेरो बुढोलाई यस बारे भनिएको होला, नेपालमा बिरामीलाई नभन्ने चलन जो छ । भोलि पल्ट डाक्टर राउण्डमा आउदा मात्र जान्न पाए मलाई खासमा भएको के थियो । बच्चा बस्ने क्रममा एउटा बच्चा पाठेघर भित्र अनि अर्को फेलोपिल ट्युव मै बसे पछि त्यो ट्युवमा बसेको बच्चा बढ्ने क्रममा फुटेको थियो । अनि त्यसपछि दुबै पाठेघर भित्रको बच्चा अनि त्यो ट्युव भित्र फुटेको बच्चालाई निकालिएको रैछ । त्यस्तो अवस्थालाई हेटेरोपिक प्रेग्नेन्सी भनिदोरैछ । यस्तो केश कम मात्रामा हुनाले, निकै जटिल नि मानिदो रैछ । त्यही भएर नै रोग पत्ता लाग्नै समय लागेको रहेछ । आफैलाई परेपछि नजिकैबाट जानियो, देखियो अनि भोगियो पनि ।

डाक्टरको लागि त एउटा जटिल अवस्थाको मान्छेलाई शल्यक्रिया गरेर बचाइयो तर मेरो लागि अवस्था अलि फरक थियो । हो, त्यो ६ हप्ते गर्भमा मैले १० महिना अगाडि गुमाएको २६ बर्षे छोराको पुनरागमनको अपेक्षा थियो । मेरो त्यो शल्यक्रियासगैं यो अपेक्षा पनि उजाडिएको थियो ।

करिब १० महिना अघि देखि हामी बच्चाको प्लानिगंमा थियौ । यस्तो कोभिडको महामारीमा पनि किन भनेर सोध्नु होला, यसमा मेरौ आफ्नौ कहानी छ । हो यसै कोभिडको महामारीका बिचमा हामीले २६ बर्षको चिकित्सक त्यो नि शल्यचिकित्सामा स्नाकोत्तर पढ्दै गरेको छोरोलाई गुमाएका थियौ । अझ मेरो मामलमा छोरो कम साथी, सहयोगी अनि सल्लाहकार बढी थियो उ । दिदि दाजुहरु भन्दा धेरैपछि जन्मेकोले पनि होला दिदी दाजुका छोरा छोरीहरु मेरो साथी जस्ता छन् । ठूलो दिदिको बिबाह हुँदा त्यही एक डेढ बर्ष जति कि थिए होला म, त्यही भएर होला आफ्नै पुस्ता भन्दा तल्लो पुस्ता मेरा साथी जस्ता छन् । उमेर मिल्ने अनि कुरा पनि । हो यिनै मध्ये एकको जसको मृत्यु मेरो लागि यति पीडादायी थियो नी, त्यति पीडा मैले जीवनमा सायदै भोग्नु पर्ला ।

हो यहि कारण थियो हामीले यो कोभिडको महामारीमा पनि बच्चा पाउने चाहाना राख्नु । देख्नेले भन्थे यो बाबु त दिदिको छोरा कम तिम्रो बढी छोरा लाग्छ । हो, उ मेरो दिदिको छोरा थियो । यसैले पनि लाग्थ्यो कि उ मेरो गर्भबाट जन्मनको लागि दिदिको काखबाट बिदा लियो । यसै कारण थियो कोभिडको महामारीमा पनि हामीले बच्चा चाहानु । उ यसै गयो कोभिडको महामारीमा त्यो पनि अनि परिवारको आफन्त गुमाउदा कस्तो हुन्छ भन्ने साह्रै लामो तर बहुत दुखदायी अनुभब दिएर गएको थियो ।

त्यो पनि त्यति टाढा दक्षिण भारतको पुण्डीचेरीमा, कोरोनाको कारण उसको अन्तिम बिदाइका लागि हामी सबै सहभागी हुन सकेनौ । दिक्षान्तर समारोहमा आउने योजना पुरा हुन नपाउदै जिपमरबाट उ सधै–सधैका लागि बिदा भएको थियो । आफ्नै अगाडि उसको अन्तिम बिदाई भको नदेखेर होला, मलाई लागि रहन्छ कि उ, कतै आइ पो हाल्छकी भनेर । तर यो सत्य हो, उ आउदैन, अनि यो पनि थाहा छ कि, आउछ कि भनेर भन्नु आफैलाई अझै दुखी बनाउनु हो, तर पनि मन नै त हो झन धेरै सम्झना आई हाल्ने । जान त अब उ गई सक्यो, त्यसैले अब उसलाई प्राप्त गर्ने अर्को बाटो भनेको उसलाई पुर्नजन्म दिनु हो । म यस्तै सोच्न थालेकी थिए । त्यही सोचेर नि हो, हामीले बच्चा पाउने पुर्नयोजना बनाको । म चाहान्थे उ फेरी हाम्रो परिवारमा आओस्, यसैले मैले भविष्यमा जन्मिने मेरो नयाँ सन्तानको प्रारुप यस्तो होला भनेर लगभग अड्कल काटेकी थिए । यसकै लागि मैले मेरो गर्भमा उही नै आहोस् भनेर म कामना गरिरहन्थे । अनि हरेक दिन म यही नै प्रार्थना गरिरहन्थे । त्यही भएर पनि होला मेरो गर्भमा आएको बच्चा उ नै हो भनेर ढुक्क प्राय थिए । तर २६ बसन्तसम्म सँगै बसेर त आफ्नो अलग बाटो तय गरेको उ हामीसँग रमाउन सक्दैन भन्ने हेक्का नै भएन । हामीसँग आउनु पर्छ भनेर होला ६ हप्तामा नै उसले पुनः आफ्नो बाटो तय गर्याे । हो, उ पुनः जन्मिन सकेन । भगवानले सायद एकको बदला दूइ नै दिएका थिए तर खै के ले दिएन ।

न उ पुनः जन्मियो न त मैले नै उसलाइ जन्माउन सके । मैले जन्माउन नपाएको छोरा । मैले जन्माउन नसकेको छोरा संजीव । अलबिदा संजीव । मन मुटुमा सदैव खड्किरहने तेरो अभाव । मैले त तेश्रो जन्म त पाए तर तेरो पुनरागमनको आशालाई तिलाञ्जली दिएर ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!